फोनबाट पिरती, विहेको चार महिनामै धोका, अहिले न्याय खोज्न भौतारिंदै


६ जेष्ठ २०७६, सोमबार
devorce

रोल्पा, ६ जेठ । दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा’, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भनिन्।

सोही नगरपालिका–२ निवासी हुकुम कवरसँग २०७५ साल असारमा प्रेम विवाह गरेकी कवरले जीवनमा धोका खाइएला भन्ने कहिले सोचिनन् । ‘हामीले एक अर्कालाई औधी माया गर्दथ्यौं, सबथोक उहाँलाई सुम्पे र विश्वास गरे, विवाह गरेको कुनै प्रमाण समेत बनाइनँ’, कवरले भावुक हुँदै भनिन् । विवाह गरेको चार महिनामै उक्त प्रेमजोडी अकल्पनीय रूपमै छुट्न पुग्यो ।

‘श्रीमानले म कमाउन जान्छु भन्थे, अहिले माडी गाउँपालिका–३ तालाबाङ निवासी लालकुमारी घर्तीसँग भागेका छन् रे भन्ने सुनेको छु’, रुँदै कवरले बेदना पोखिन् । श्रीमान् बेपत्ता भएपछि अहिले उनी घर न घाटको भएकी छन् । ‘आठ महिनासम्म आउँला भन्दै उसैको बाटो हेर्दै सासूसँग घरमै बसें, अब त आउँला भन्ने आशानै मरिसक्यो’, निरास बन्दै उनले भनिन् ।

श्रीमानले गरेको अन्यायविरूद्ध न्याय खोज्न विभिन्न संघ संस्थामा भौतारिरहेकी कवरसँग वैवाहिक बन्धनमा बाँधिएको कुनै कानुनी आधार पनि छैन । २ नम्बर वडाध्यक्ष खिमबहादुर घर्तीले भने केही आशा देखाएका छन् ।

‘गाउँमा विवाह गरेको सबैलाई थाहा छ, यो नै सबभन्दा ठूलो प्रमाण हो, मैले साक्षी सर्जि्मिनको रूपमा सिफारिस गरेको छु, यो नै व्यवहारिकतामा ठूलो प्रमाण हो’, वडाध्यक्ष घर्तीले भने ।
कानुनीरूपमा न्याय पाउनका सबभन्दा ठूलो प्रमाण विवाह दर्ता हो, कि त श्रीमानको नाममा नागरिकता हुनु पर्‍यो, यदि त्यति गर्न सकिएन भने विवाह गरेको फोटो अडियो भिडियो भए पनि प्रमाण हुन सक्छ, महिला तथा बालबालिका सेवा केन्द्रका मीनाकुमारी विकले भनिन् ।

‘यति भन्दैमा आफूहरूले कुनै प्रक्रिया भने नचाल्ने भन्ने कुरो छैन, हामीले मातहतका सबै युनिटमा हुलिया पठाएका छौं, पीडकलाई पक्रेर लिन निर्देशन समेत दिएका छौं, हेरौं कुनै पाटोबाट पीडितलाई न्याय दिन सकिन्छ कि’, विकले थपिन् । सानै उमेरमा लहलहैमा विवाह गर्ने, पछि धोका खाइएला भन्ने हेक्का समेत नराख्दा रोल्पामा यस्ता खालका घटना थुप्रै घट्ने गरेका छन । कानुनी रूपमा विवाह प्रमाणित हुनका लागि विवाह दर्ता बलियो आधार हो ।

विवाह गरेको ३५ दिनभित्र वडा कार्यालयमा विवाह दर्ता गर्न गए निःशुल्क दर्ता गरिन्छ । विवाहपछिको यो अनिवार्य प्रक्रिया जस्तै हो । विवाह गर्ने क्रममा फोटो, भिडियो वा अडियो रेकर्ड गरी सुरक्षित राख्नु पर्दछ । माइती पक्षबाट नागरिकता बनाएको छैन भने श्रीमानको नाममा तुरुन्त नागरिकता समेत बनाउनु पर्छ।

विवाह गरेको निश्चित समयभित्र यी प्रक्रिया नपुर्‍याउँदा धेरैजसो महिला अन्यायमा पर्ने गरेका छन् । चालू आर्थिक वर्ष २०७५–७६ मा हालसम्म ८१ वटा घरेलु हिंसाका घटना महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका छन् भने ७४ वटा घरेलु हिंसा मिलापत्र भइसकेको छ ।

यसै आवमा लैङ्गिक हिंसाका घटना १८ वटा दर्ता भएका छन् । यसरी आउने उजुरी अधिकांश मिलापत्रमै टुङ्गिने गरेको छ । देश सङ्घीयतामा गईसके पनि स्थानीय सरकारमा पीडितले न्यायको महसुस नगरेपश्चात् जिल्ला प्रहरी कार्यालयमा नै यस्ता घटना दैनिकी आउने गरेको महिला तथा बालबालिका सेवा केन्द्र रोल्पाले बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७