मेयर र प्रधानाध्यापक समूहको झडपले तीनकौरिया ‘तनावग्रस्त’

वडाध्यक्ष, विव्यस अध्यक्षसहित १२ बढी घाइते


२६ जेष्ठ २०७६, आईतवार
jhadap

जनकपुर, २६ जेठ । जनकपुरका विदेश नगरपालिकाका प्रमुख र प्रधानाध्यापकबीचको विवादले उग्ररुप लिंदा आइतबार धनुषाको तीनकौरिया चोक तनावग्रस्त बनेको छ ।

आइतबार बिहान विद्यालय सञ्चालन भएलगतै जनता नमुना माध्यमिक विद्यालय गिद्धा बेलापटीका प्रधानाध्यापक पवनकुमार मण्डल समर्थक विद्यार्थीहरुको समूह विदेह नगरपालिकाका मेयर बेचन दासको विरोधमा नाराबाजी गर्दै तीनकौरिया चौकमा टायर बालेका थिए ।

आन्दोलनरत्त विद्यार्थीहरुले मेयर दासलाई ज्ञापनपत्र बुझाउँदै पाठ्यपुस्तकको रकम उपलब्ध गराउनु पर्ने, प्राविधिक धारका विद्यार्थीहरुको छात्रवृति तथा काज सरुवा गरिएका प्रधानाध्यापक मण्डलको थमौतीको माग गरेका छन् । आन्दोलनका कारण उक्त विद्यालयकोपठनपाठन प्रभावित भएको छ ।

अर्को तर्फ मेयर बेचन दास समर्थक अभिभावक तथा स्थानीयवासीले प्रधानाध्यापक मण्डलको विरोधमा प्रदर्शन गरेका थिए । उनीहरुले नियमित पठन पाठन तथा प्रधानाध्यापक मण्डलमाथि कार्बाहीको माग गरेका थिए । तीनकौरिया चोकबाट शुरु भएको उक्त प्रदर्शन विद्यालय परिसर हुँदै पुनः तीनकौरिया चोकमा पुगेर सकिएको थियो ।

यस बीचमा दुबै पक्षका अभिभावकहरुबीच पटक–पटक झडप भएको थियो । प्रदर्शनमा विद्यार्थी र नगर प्रमुखका समर्थकबीच झडप हुँदा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन् । विरोध गरिरहेका विद्यार्थीहरूले नगरपालिकामा ताला लगाउन खोज्दा नगर प्रमुख बेचन दासका समर्थकले रोक्न खोजेपछि झडप भएको हो । डपमा परी १२ जना विद्यार्थीसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेकृष्ण गोइत, विदेह नगरपालिका–१ का वडा अध्यक्ष विनोद गोहितमान समेत घाइते भएका छन् ।

विदेह नगरपालिकाको गत वैशाख दोस्रो साता सम्पन्न बोर्ड बैठकले जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मण्डललाई नगरपालिकाभित्रकै शंकर जनता माध्यमिक विद्यालय, दुहवीमा काज सरुवा गरेपछि प्रधानाध्यापक मण्डल र नगरप्रमुख दासबीच द्वन्द्व बढेको हो । अभिभावक तथा विद्यार्थीहरु दुई ध्रुवमा विभाजित भएकोले पछिल्ला केही दिनदेखि तीनकौरिया चोक तनावग्रस्त छ । मण्डल समर्थक विद्यार्थीहरु शुक्रबार नगरपालिका कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

आन्दोलनका कारण अधिकांश शिक्षक हाजिर गरेर घर फर्किन्छन् । विद्यालयको खाता रोक्का रहेकाले शिक्षक कर्मचारीहरुले तलब पाएका छैनन् । प्रधानाध्यापक मण्डलको कार्यसम्पादन सन्तोषजनक नभएको तथा विद्यालयमा आर्थिक अनियमिताको आरोप लगाउँदै नगरपालिका बोर्ड बैठकको निर्णयले मण्डलाई काजसरुवा गरिएको मेयर दासले जानकारी गराएका छन् ।

गत पाँच वर्षदेखि प्राविधिक धारका विद्यार्थीहरुका लागि आएको छात्रवृत्ति, निजी शिक्षकहरुको तलब आदि शीर्षकमा भएको खर्चको विवरण दिन लिखित पत्र पठाउँदा पनि प्रधानाध्यापक मण्डलले कुनै जवाफ नदिएपछि बोर्ड बैठकबाट काज सरुवा गरिएको उनले बताएका छन् । प्रधानाध्यापक मण्डलले भने नगरपालिकासँग सरुवा गर्ने अधिकार नभएको जिकिर गर्दै विद्यालयका बजेटमा कमिसन नदिएको कारण मेयरले आफूलाई सरुवा गरेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७