विप्लवका गतिविधि निस्तेज पार्न गृहमन्त्रीले दिए यस्तो निर्देशन


४ असार २०७६, बुधबार
Ram Bahadur Thapa राम बहादुर थापाalso known as Badal He is the current Home Minister of Nepal He is a leader of Nepal Communist Party

काठमाडौं, ४ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहविरुद्ध सरकार आक्रामक बनेको छ । गृहमन्त्री रामबहादुर थापाले सातै प्रदेशका प्रहरी प्रमुखलाई मंगलबार मन्त्रालयमा डाकेर यसबारे सचेत पारेका छन् ।

एक घण्टा लामो छलफलमा मन्त्री थापाले विप्लवका गतिविधि पूर्ण नियन्त्रणमा राख्न उनीहरूलाई निर्देशन दिए। विप्लवका गतिविधिको सूक्ष्म निगरानी गरी पूर्ण निस्तेज पार्ने रणनीति बनाएर काम गर्न पनि उनले निर्देश गरे ।

‘शान्ति–सुरक्षा, सुशासन र जनतालाई प्रभावकारी सेवा प्रवाह हुने गरी काम गर्नू’, बैठकमा सहभागी एक डीआईजीले मन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘तपाईंहरूको रणनीति जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने खालको हुनुपर्‍यो । अवाञ्छित गतिविधिलाई पूर्ण नियन्त्रण हुने गरी काम गर्नुस् ।’

प्रतिपक्षले साना विषयलाई पनि उछालेर सरकारी कामकाजमा बाधा पुर्‍याइरहेकाले त्यसबारे पनि सचेत रहनुपर्ने मन्त्री थापाको भनाइ थियो । उनले आफू सरकारी कर्मचारी हुँ भन्ने मात्रै नठानी जिम्मेवार नागरिक बन्न प्रदेश प्रहरी प्रमुखहरूलाई निर्देशन दिए ।

‘प्रदेशअनुसार समस्या र विशिष्टता फरक छन्, सोहीअनुसार काम गर्नुस्’, उनले भने, ‘तस्करीका नयाँ रुट खुलेको सुनिन्छ र कतिपय ठाउँमा प्रहरी र तस्करको मिलेमतोका खबर पनि आउने गरेका छन् । सचेत भएर काम गर्नुस् ।’

बैठकमा मन्त्रीसँगै गृहसचिव प्रेमकुमार राई, प्रदेश प्रहरी प्रमुखहरू प्रदेश १ का ठाकुर ज्ञवाली, प्रदेश २ का प्रद्युम्न कार्की, प्रदेश ३ का शेरबहादुर बस्नेत, गण्डकीका विनोद शर्मा घिमिरे, प्रदेश ५ का सुरेशविक्रम शाह, कर्णालीका पूर्णचन्द्र जोशी र सुदूरपश्चिमका तारणीप्रसाद लम्साललगायत सहभागी थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७