सेनाका जवान फेसबुककी ‘राम्री केटी’ को पछि लाग्दा ‘नराम्ररी’ फसे


११ असार २०७६, बुधबार
ramri kt

काठमाडौं, ११ असार । सामाजिक सञ्जाल प्रयोग अहिले व्यापक बनेको छ । सामाजिक सञ्जालले सूचना आदान प्रदान गर्ने, नजिकको नाता बनाउने मात्र काम गरेको छैन । ठगी धन्दाका लागि समेत सहयोगी बनिरहेको छ ।

सामाजिक सञ्जालमा जोडिन आउने मानिसलाई चिन्न नसक्दा ठगिने र विपतिमा पर्नेसम्मका घटनाहरु आउने गर्छन् । एक सेनाका जवान समेत फेसबुकमा आएकी राम्री केटीको पछि लाग्दा नराम्ररी फसेका छन् ।

दोलखा शैलुङका २४ वर्षीय हरिबहादुर कार्कीलाई सुन्दर तस्बिरकी अपरिचित केटीले साथी बनाउन अनुरोध पठाइन् । नेपाली सेनाका जवान कार्कीलाई राम्री केटीको साथी बन्न अनुरोध पठाउँदा नस्वीकाने कुरै भएन । उनलाई गाउँकै कल्पना बस्नेत भुजेलले फेसबुक म्यासेन्जरबाट उकासिन, केटी राम्री छे भन्दै थप हौस्याइन् ।

केटीले औधी मन पराउने कुरा कल्पनाले बताएपछि अविवाहित हरिले ग्रीन सिग्नल पाए । उनीहरुबीच केही महिनासम्म लगातार सामाजिक सञ्जाल र फोनमा कुरा चल्यो । माया प्रिती चलिरहेकै बेला एक दिन कल्पनाले सुनको लकेट ल्याएर हरिलाई दिँदै भनिन्, ‘तिम्री मायालुले पठाई दिएको ।’

राम्री केटीले उपहार समेत पठाई दिएको भनेपछि हरिको हर्षको सीमा रहेन । माया झागिँदै गएका बेला एक दिन कल्पनाले भनिन्, ‘तिमीलाई माया गर्ने केटी दुर्घटनामा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेकी छे उपचार खर्च पठाई दिनुस् भन्दै अप्रिय खबर सुनाइन् ।

हरिले केही सोचेनन् । पटक–पटक गरेर मनी ट्रान्सफरमार्फत् ४ लाख ५५ हजार रुपैयाँ उपचार खर्च पठाइदिए । खर्च पठाइरहे पनि उनले माया गरेकी केटीसँग भने कुरा गर्न पाएनन् । हरिले एक दिन कल्पनालाई आफूले माया गर्ने केटीलाई भेटाई दिन आग्रह गरे । त्यसपछि कल्पना टाढिइन् । कल्पनाले एक दिन सुनाइन्, ‘तिमीलाई माया गर्ने केटीको त उपचारकै क्रममा भारतमा ज्यान गयो ।’

त्यसपछि हरिलाई लाग्यो, कतै मायाको खेल नक्कली त होइन । हरिले महानगरीय प्रहरी अपराध महाशाखामा घटनाको विवरण टिपाए । प्रहरी अनुसन्धानबाट खुल्यो, २३ वर्षीय कल्पनाले नै नक्कली फेसबुक आइडी खोलेर हरिसँग मायाको नाटक गर्दै दोहोरो भूमिका निभाइरहेकी रहिछन् । महाशाखाका एसपी सुशीलसिंह राठौरले यो ठगीको अनौठो घटना भएको बताएका छन् ।

राठौरका अनुसार कल्पनाले ठग्नकै निम्ती सुन जस्तै देखिने नक्कली सिक्री किनेर मायालुले पठाई दिएको भनेर हरिलाई दिएको तथ्य खुलेको बताए । प्रहरीले कल्पनालाई भक्तपुरको बालकोटबाट पक्राउ गरी ठगी मुद्दामा कार्बाही अगाडि बढाएको छ ।

गत शनिबार मात्रै प्रहरीले फेसबुकमार्फत् नक्कली मायको नाटक रची भारतीय नागरिक जैन श्रीपालसँग २३ लाख ठगेको आरोपमा महोत्तरी औरी नगपालिका १ घर भई काठमाडौंको नरेफाँटमा बस्ने २१ वर्षीय युवती डायन सेकेन्डलाई पक्राउ गरेको थियो । यी दुवै घटनामा देखिने समानता भनेको, सामाजिक सञ्जालको प्रयोग र मायाको नाटक गरी पैसा धुत्ने खेल देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७