सांसद विनोद चौधरीको सीजी ग्रुप र हुवावेबीच ११ अर्बको फोरजी सेवा सम्झौता

वाइवाइ चाउचाउबाट उदाएको चौधरीको व्यवसाय एसिया–युरोपमा विस्तार


१७ असार २०७६, मंगलवार
Binod Chaudhary 1

काठमाडौं, १७ असार । नेपालको चौधरी ग्रुप (सीजी) ले चिनियाँ हुवावे टेक्नोलजिज कम्पनीसँग ११ अर्ब रुपैंयाँमा नेपालमा फोरजी फोन सेवाका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सीजीले हुवावेसँग उक्त सेवाका लागि मंगलबारको भाऊ अनुसार १० करोड अमेरिकी डलरको सम्झौता गरेको हो ।

सीजीका प्रवक्ता मधुसूदन पौडेलले पनि फोरजी सम्बन्धमा हुवावेसँग सम्झौता भएको पुष्टि गरेका छन् । हुवावे टेक्नोलोजीसँग बार्सिलोनामा नै यससम्बन्धी सम्झौता भएको थियो । उक्त बराबरको समान ल्याई नेपालमा सीजीको सेवा सञ्चालन हुने उनले जानकारी दिएका छन् ।

नेपालको मोबाइल फोन बजारमा भारतमा रिलायन्स इन्डस्ट्रिज लिमिटेडको जिओले जस्तै सीजीले फोरजी नेटवर्कका लागि प्रारम्भिक रुपमा २५ करोड डलर लगानी गर्ने एक अन्तरवार्ताका क्रममा सीजी ग्रुपका प्रमुख विनोद चौधरीले बताएका छन् । यसले निःशुल्क भोइस सेवालाई समेत जोड दिए पनि डाटा, अनलाइन भुक्तानी र अन्य सेवालाई मुख्य लक्ष्य गर्ने चौधरीले जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ ।

नेपालबाट वाइवाइ चाउचाउमार्फत उदाएको चौधरीको व्यवसाय हाल एसिया, युरोपमा विस्तार भएको छ । चौधरीको परिवार नै व्यवसायमा संलग्न हुने क्रममा संगठित भएर बैंक, टेलिकम्युनिकेसन व्यवसायसम्म सञ्चालन गरिसकेका छन् ।

त्यस्तै दर्जन बढी रिसोर्ट रहेको ग्रुपको माल्दिभ्समा दुई वटा रिसोर्ट छ भने भारतको ताज ग्रुपसँग व्यावसायिक साझेदारी समेत गरेको छ । चौधरी नेपालका एक मात्र डलर अर्बपति समेत हुन् । फोर्ब्स म्यागजिनका अनुसार उनको कुल सम्पत्ति १ अर्ब ७० करोड डलर बराबरको रहेको छ । भारत, सर्बिया र बंगलादेशमा ग्रुपको चाउचाउ उद्योग सञ्चालित छन् ।

१० करोड डलरका फोरजी सामग्री
सम्झौतासँगै हुवावेले १० करोड डलर मूल्यका फोरजीसम्बन्धी वस्तुहरु आपूर्ति गर्नेछ । जुन पछि फाइभजी प्रविधिमा ‘अपग्रेड’ हुने चौधरीको भनाइ छ । चौधरी हाल नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य समेत रहेका छन् ।

‘हुवावेले अहिले नेपाल सरकारको स्वामित्व रहेको टेलिकम कम्पनीमा सहकार्य गरिरहेको छ, अब हामीसँग पनि सहकार्य हुनेछ’, उनले भनेका छन् । विश्वभर नै हुवावे अहिले फाइभजी प्रविधिसँग सम्बन्धित सामग्रीको मुख्य प्रतिष्पर्धी कम्पनी हो । अमेरिकाले भने आफ्ना मित्रराष्ट्रहरुलाई हुवावेको प्रविधि नकार्न प्रेरित गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७