प्रहरीबाट कुटिए पत्रकार महासंघका अध्यक्ष, अवस्था चिन्ताजनक


२२ असार २०७६, आईतवार
Sindhuli 1

सिन्धुली, २२ असार । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) बिना बर्दीका प्रहरीबाट कुटिएका छन् ।

कनपा–६ शिवनगरमा होटलमा खाजा खाइरहेका बेलामा आई भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा शनिबार राति कार्कीमाथि आक्रमण भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३० वर्षीय सलामसिंह लामा र प्रहरी जवान काभ्रे पनौती ७ का २८ वर्षीय विकाससिंह स्याङतानले कार्कीमाथि हातपात गरेका हुन् ।

अध्यक्ष कार्कीको हेलमेटले कुटेका कारण टाउकोमा गम्भिर चोट लागेको छ । वेहोस अवस्थामा रहेका कार्कीको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि राति नै काठमाडौं रिफर गरिएको सिन्धुली अस्पतालका डाक्टर सुमित्र गौतमले जानकारी दिएकी छन् ।

डा. गौतमका अनुसार टाउकोमा गम्भिर चोट देखिएका कारण कार्कीलाई काठमाडौं रिफर गरिएको हो । महासंघका पूर्व अध्यक्ष मिनकुमार दाहालसँगै खाजा खाईरहेका अध्यक्ष र दाहाल दुवै माथि हातपात भएको तर, दाहाललाई भने ठूलो चोट लागेको छैन ।

घटनापछि अभियुक्त प्रहरीहरुलाई तत्काल पक्राउ गरि राति नै पत्रकारहरुको बीचमा सार्वजनिक गरिएको छ । यस्तै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डे, सचिव विदुर पौडेल, पूर्व अध्यक्षहरु राजकुमार कार्की, सञ्जय दाहाल, श्यामहरि अधिकारी, मिनकुमार दाहाललगायतका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्रबहादुर सिंह, डिएसपी लोकदर्शन थापासँग घटना र घाइतेको उपचारका सन्दर्भमा छलफल गरेका छन् ।

छलफलमा एसपी सिंहले घाइतेको उपचारको प्रवन्ध गर्ने र दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । यसैबीच पत्रकार महासंघ सिन्धुलीले आईतबार विहान ७ बजे पूर्व अध्यक्षहरुसहितको आकस्मिक वैठकको आह्वान गरेको छ । घटनाले जिल्लाका पत्रकारहरुमाथि सुरक्षा निकायका व्यक्तिहरुबाट आक्रमण हुनु निन्दनीय भएको ठहर गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७