न आफन्त, न एक चपरी माटो, वृद्धको ओढारमा बास


२३ असार २०७६, सोमबार
odar

म्याग्दी, २३ असार । ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा अत्यन्त टीठलाग्दो अवस्थामा भेटिन्छन् ६५ वर्षीय हिराबहादुर पूर्जा ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हिराबहादुर विगत एक महिनादेखि ओढारमा बस्दै आएका छन् । घरजग्गा केही नभएका (सुकुम्वासी) पूर्जा यसअघि आफ्ना दाजु लोदे पुर्जासँगै तिप्ल्याङमा अर्कैको घरको एउटा कोठामा बस्थे । ८० वर्षीय दाजु लोदेसँग झगडा भएपछि उनी गत जेठको अन्तिम सातादेखि ओढारमा बस्न थालेको रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले जानकारी दिए ।

वडा सदस्य गौचनका अनुसार गाउँमा उनीहरुको सम्पत्तिको नाममा एक टुक्रा जग्गा र एउटा छाप्रो समेत छैन । न त उनीहरुको नाता सम्बन्धहरु नै छन् गाउँमा । कहाँबाट आएर कहिलेदेखि यी दुई भाइ गाउँमा बस्न थालेका हुन् भन्ने कुराको जानकारी समेत गाउँलेलाई छैन । गाउँका वृद्धवृद्धाहरुबाट उनीहरु गाउँमा देखिएको ५० वर्षभन्दा बढी भएको आफूले जानकारी पाएको वडा सदस्य गौचनले जानकारी दिए ।

‘गाउँमा न उनीहरुका कोही आफन्त छन्, न त सम्पत्ति छ’, गौचनले भने, ‘उनीहरुको आफन्तको बारेमा पत्ता लगाउन हामीले धेरै कोशिस गर्‍यौं तर पत्ता लगाउन सकिएन ।’

गौचनका अनुसार पहिला पहिला दुई भाइले गाउँमा ज्याला मजदूरी गरेर खाने गर्थे । दाजु लोदे (वास्तविक नाम थाहा हुन नसकेको) ले काम गर्न नसक्ने भएपछि उनीहरुको विजोग भएको हो । जेठसम्म दुई भाइ एउटै कोठामा व्बस्थे । तर उनीहरुको बीचमा झगडा भएपछि भाइ हिराबहादुर त्यहाँबाट निस्केर खेतको कुनापट्टी रहेको ओढारमा बस्न थालेका र यो कुरा आफूले केही दिन अघि मात्र थाहा पाएको गौचनले जानकारी दिए ।

गाउँपालिकामा यी दुई भाइको व्यवस्थापन गर्ने विषयमा छलफल भएको र उनीहरुलाई बासस्थानका लागि सार्वजनिक जग्गामा भए पनि घर बनाई दिने विषयमा सबै सहमत भएको वडाध्यक्ष बीलबहादुर फगामीले बताए ।

उनीहरुलाई अहिले तत्कालै रु एक लाख खर्च गरेर बस्ने बास र खाने चिजहरुको व्यवस्था गर्नुका साथै भाई हिराबहादुर पूर्जाको नागरिकताको आधारमा दाजु लोदे पूर्जाको पनि नागरिकता बनाई दिने निर्णय भएको वडाध्यक्ष फगामीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७