थारु कला संस्कृतिका लागि मुख्य गन्तव्य बन्दै भादा गाउँ घरवास


१४ पुष २०७५, शनिबार
tharu cultural program

–सिद्धराज भट्ट
धनगढी, १४ पुस । थारु समुदायको कला संस्कृति, परम्परा, वेषभूषाको अध्ययन अवलोकनका लागि कैलालीको भादा गाउँ घरवास मुख्य गन्तव्यका रुपमा परिचित हुन थालेको छ ।

शतप्रतिशत थारु चौधरी समुदायको बसोवास रहेको उक्त गाउँमा वर्षेनी भादा घरवास कार्यक्रम सञ्चालन गरिएसँगै थारु समुदायको संस्कृति, रहनसहन, परम्परा, वेषभूषाको अध्ययन अवलोकन गर्नका लागि प्रमुख गन्तव्य क्षेत्र बन्न थालेको हो ।

‘थारुहरुको परम्परागत रहनसहन, वेषभूषा, खानपान, कला संस्कृति नै भादा घरवास कार्यक्रमको विशेष आकर्षक पक्ष हो’, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्णबहादुर महराले भने,‘ “विदेशी पर्यटकका लागि भादा गाउँ उत्कृष्ट गन्तव्य क्षेत्र बन्नसक्ने देखिएको छ ।’

भादा घरवास कार्यक्रमको शुरुवातसँगै सो गाउँ पुग्ने पर्यटकले थारुको परम्परागत संस्कृति, रहनसहन, वेषभूषा, खानपिनबारे जानकारी लिने अवसर पाउने गरेका छन् । पर्यटन विकास समाजका अध्यक्ष समेत रहेका महराले भादा गाउँमा थारु सङ्ग्रहालय स्थापना हुनलागेको जानकारी दिए ।

उक्त गाउँको पर्यटकले साक्षात्कार गर्ने अवसर पाएसँगै स्थानीयवासीको जीवनशैलीमा परिवर्तन देखिन थालेको भादा गाउँ पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए ।

घरवास सञ्चालनपछि आयआर्जनमा समेत वृद्धि भई स्थानीयवासीको आर्थिक जीवनमा परिवर्तन हुन थालेको छ । उनले भने,‘निरक्षर साक्षर हुँदैछन, सरसफाइमा समेत ध्यान दिन थालिएको छ ।’ विदेशी पर्यटकसँग स्थानीय कतिपय बासिन्दा सामान्य अङ्ग्रेजी भाषा बोल्नसक्ने भएका छन् ।

कृषि पेशा गरिरहेका भादा गाउँका बासिन्दा कतिपयले घरवास सञ्चालनको प्रभावपछि बाँसका चोयाबाट डोको, नाम्लो, डालो लगायतका सामग्री तयार पारेर बिक्री समेत गर्न थालेका छन् । घरवास सञ्चालनका समयमा अवलोकन गर्न आउने स्वदेशी र विदेशी पर्यटकलाई थारु संस्कृति र परम्परासँग सम्बन्धित सेवा सुविधा उपलब्ध गराउने गरिएको छ ।

धनगढी उपमहानगरपालिका—१६ मा पर्ने उक्त गाउँसम्म पुग्न चार वर्षअघिसम्म कच्ची बाटोको प्रयोग गर्नुपर्नेमा अहिले सघन शहरी विकास आयोजना अन्तर्गत सडकमा ग्राभेल गरी सडकको कतिपय भागमा कालोपत्रे समेत भइसकेको छ ।

धनगढीवाट झण्डै १७ किलोमिटरको दूरीमा रहेको सो गाउँ नजिकै जोगिनिया ताल, रामेश्वर मन्दिर, बेहडाबाबा मन्दिर लगायतका तीर्थस्थल रहेका छन् । भ्रमण वर्ष सन् २०२० लाई पूरा गर्न देशभरीका सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा उक्त गाउँ पनि समेटिएको छ ।

यस वर्ष यही पुस १७ गतेवाट ‘थारु घरवास गाउँ भादा महोत्सव–२०७५’ शुरु हुन लागेको छ । ‘संरक्षण सम्बद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति वेषभूषा हमार पहिचान’ अर्थात संरक्षण सम्बद्र्धनका लागि सबै जनाले गर्नुपर्छ काम, संस्कृति वेषभूषा हाम्रो पहिचान भन्ने मूलनाराका साथ सो महोत्सवको आयोजना गर्न लागिएको हो ।

लोप हुनलागेको थारु समुदायको सीप, कला, संस्कृति, भाषा, खानपिन, रहनसहनको संरक्षण सम्बद्र्धनमा टेवा पु¥याउन घरवास सञ्चालन गरिएको समितिका अध्यक्ष चौधरीले बताए । घरवास कार्यक्रम सञ्चालनवाट स्थानीयस्तरमा स्वरोजगारको अवसर सिर्जना हुने, थारु सामुदायिक भादा गाउँको प्रचारप्रसार हुने, हरेक जातजाती तथा देश विदेशका नागरिकबीच सद्भाव कायम राख्न मद्दत समेत पुर्याउने विश्वास गरिएको छ ।

समितिका कोषाध्यक्ष पद्मबहादुर चौधरीले उक्त गाउँमा २२४ घर सङ्ख्या रहेकोमा १९ घरमा घरवास सञ्चालन हुन लागेको जानकारी दिनुभयो । घरवासको अवलोकन गर्न आउने पर्यटकलाई गोरुगाडा मध्येको सानो गोरु गाडामा राखेर उक्त क्षेत्रमा रहेका धार्मिक तथा प्राकृतिकस्थलको अवलोकलन गराउने योजना आयोजकको छ ।

घरवास तथा महोत्सवमा थारु समुदायले तयार पारेका घरायसी प्रयोगमा आउने हस्तकलाका स्थानीय सामग्री ढकिया, डेलुवा, लेहङ्गा, मचिया, डेलिया, सिकहर, हसिया, बेल्नाचौकी, लगायतका बस्तुको अवलोकन गर्न सकिने व्यवस्था समेत गरिन लागिएको छ ।

यस्तै थारु खानाका परिकार ढिक्री, घोङ्घी, बरिया, फुलौरी, खेर्या, बङ्गुर तथा मुसाको मासु, गङगटाको पकौरी, सिध्रा, अण्डी भात,लगायतका परिकार आकर्षणका रुपमा राखिने भएको छ ।

महोत्सवमा स्थानीय थारु समुदायको सखिया, झुम्रा, मघौटा, लठ्ठी, मुङग्रहुवा, हुर्डङवा, छोक्रा लगायतका नाचको प्रस्तुत गरिने बताइएको छ । महोत्सव अवधिभर ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७