प्रिन्सको, ‘न मानामा नापिन्छ माया’


१५ पुष २०७५, आईतवार

काठमाडौं, १५ पुस । चितवनको सौराहा घर भई हाल काठमाडौं बस्दै आएका बाल गायक प्रिन्स सिलवालको दोस्रो म्युजिक भिडियोको छायाङ्कन शुरु भएको छ ।

prince

११ वर्षीय प्रिन्सकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’ को म्युजिक भिडियोमा अहिले प्रिन्स व्यस्त छन् । सौराहामा सुन्दर पोशाकमा सजिएका थारू युवतीको ‘कोरस’ नृत्य अगाडि प्रिन्सले मोडलिङ गरेका छन् । उनलाई मोडलिङमा निशा पाण्डे र जेनी धमलाले साथ दिएका छन् ।

भकारी एमडिसीको प्रस्तुतिमा शुरु भएको म्युजिक भिडियो छायाङ्कनमा प्रिन्सले उत्कृष्ट प्रदर्शन गरेको निर्देशक सञ्जय पाण्डेले बताए । यसअघि प्रिन्सले दशैंको अवसरमा उमङ्गले भरिएको गीत ‘दशैं मनाउने हो, नाच्दै रमाउने हो’ भिडियो बजारमा ल्याएका थिए ।

‘गायनमा जस्तै राम्रो प्रस्तुति मोडलिङमा प्रिन्सले देखाएका छन्’, गीतकार तथा भकारी एमडीसीका निर्देशक वसन्त वित्यासी थापाले भने । ‘न मानामा नापिन्छ माया’ बोलको गीत पहिलो रेकर्ड भए पनि म्युजिक भिडियो भने दोस्रो हो । उनको दोस्रो गीत ‘दशैं मनाउने हो’ को म्युजिक भिडियो दशैंअघि नै बजारमा आएको थियो । यसलाई दशैँमा बालबालिकाले खुब मन पराएका थिए ।

वसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको संगीत रहेको यसमा सौराहाको रमणीय दृश्यलाई देखाउन खोजिएको प्रिन्सका बुबा रमेश सिलवालले जानकारी दिए । सञ्जय पाण्डेको निर्देशन र कृष्ण रसालको नृत्य निर्देशन रहेको म्युजिक भिडियोको छायाङ्कन भने चक्र महर्जनले गरेका छन् । भिडियोमा थारू संस्कृतिसँगै सौराहाको पर्यटकीय र प्राकृतिक रमणीय दृष्यहरू देख्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७