अघोषित रुपमा ‘भूमिगत’ लोकगायिका विष्णु माझीको खोजीमा प्रशासन


२० पुष २०७५, शुक्रबार
bishnu maghi newskarobar

काठमाडौं, २० पुस । पछिल्लो गीत ‘सालको पात टपरी हुने एबरै’ बोलको लोक गीतले नेपाली संगीत बजार पिटेको छ । चर्चित लोक गायिका विष्झु माझीले गाएको यो गीत अहिले सबैको जिब्रोमा झुण्डिएको छ । तर, यति चर्चित गीत गाउने गायिका माझी भने कहाँ छिन् कसैलाई थाहा छैन ।

bishnu maghi newskarobar

बजारमा चर्चित भएर पनि श्रोताले देख्न समेत नपाएकी गायिका माझीबारे स्याङजा प्रशासनले चासो देखाएको छ । श्रोताको माया पाउँदा–पाउँदै ‘अघोषित’ रुपमा भूमिगत शैलीको जीवन विताइरहेकी चर्चित लोक गायिका विष्णु माझीको अवस्थाका बारेमा स्याङजा प्रशासनले चासो देखाएको छ ।

बेला–बखत श्रीमानले माझीलाई ‘बन्धक’ बनाउने गरेको समाचार सञ्चार माध्यममा आउने गरेका थिए । पछिल्लो समय गायिका माझीको विषयमा उनको कहाँ हराइन् भन्ने आशयको समाचार सञ्चारमाध्यममा आएपछि स्याङजा प्रशासनले गायिका माझीका विषयमा चासो देखाएको हो ।

स्याङजाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले माझी नेपाली गीत–संगीतको सम्पति भएको बताउँदै उनको विषयमा चासो राख्नु दायित्व र कर्तव्य भएको बताएका छन् । उनले भने, ‘उनी स्याङजाकै भएका कारण पनि उनको विषयमा चासो राख्नु आफ्नो दायित्व भएको निरौलाले बताएका छन् ।

उसो त यसअघि पनि गायिका माझीलाई आफ्नै श्रीमानले भूमिगत शैलीमा बन्धक बनाएको समाचारहरु बाहिर आएका छन् । प्रमुख जिल्ला अधिकारी निरौला माझीको निजी जीवनमा दख्खल दिने उद्देश्यले भन्दा पनि आफ्ना श्रोताहरुबाट यति लामो समय किन टाढा रहिन भन्ने जानकारी लिन मात्र चाहेको बताएका छन् ।

प्रजिअ निरौलाले भने, ‘अहिले कसैले भूमिगत रुपमा काम गर्नुपर्ने अवस्था छैन । श्रोता–दर्शकसँग सँधै नजिकको सम्बन्धमा रहनु पर्ने माझी किन बाहिर निस्किन सकिरहनु भएको छैन भन्ने चासो मात्र हाम्रो हो ।’ प्रजिअ निरौलाले गायिका माझीको माइती र घर पक्षसँग पनि बुझ्ने काम भइरहेको बताएका छन् । विष्णु काठमाडौंमा कहाँ बस्छिन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको निरौलाले बताएका छन् । स्याङ्जा प्रहरीले पनि विष्णुबारे अनुसन्धान थालेको जनाइएको छ ।

माझीले सुन्दरमणिसँग विहे अन्तरजातीय विहे गरेको र अहिले जुम्ल्याहा छोरा रहेको सुन्दरमणिको पोखरास्थित गाउँलेहरु बताउँछन् । उनीहरुको घर परिवार सुखी र रमाइलोमै रहेको उनीहरुको भनाई छ । विष्णुलाई व्यवसायिक गायनमा सुन्दरमणिले नै ल्याएका हुन् । विष्णु स्टुडियोमा गीत रेकर्ड गराउने बाहेक अन्य सांगीतिक गतिविधिमा देखिन्नन् । स्टुडियोमा गाउन जाँदा सुन्दरमणिले नै लैजान्छन् र लिएर पनि आउँछन् । घरबाट बाहिर निस्किँदा विष्णु पछ्यौराले मुख छोपेर हिँड्ने गर्छिन् । साथै स्टुडियोमा गीत गाउँदा पनि झ्यालका पर्दा लगाउँछिन् ।

करिब १३ वर्षदेखि संगीतमा सक्रिय विष्णु अहिलेसम्म सार्वजनिक कार्यक्रम र मिडियामा देखिएकी छैनन् । उनको वर्षौंदेखि एउटा मात्रै फोटो चल्तीमा छ । विष्णुले मोबाइल समेत नबोक्ने उनलाई चिन्नेहरु बताउँछन् । काठमाडौंमा उनीहरु विष्णु कहाँ बस्छन् भन्ने पत्ता लाग्न सकेको छैन ।

यद्यपि, उनीहरु सोह्रखुट्टेतिर बढि देखिने जनाइएको छ । सुन्दरमणिको गीत रेकर्डिङ स्टुडियो सपना म्युजिक इन्डष्ट्रिज भने अनामनगरमा रहेको छ । विष्णु लोक दोहारी गायनमा अहिलेकी नम्बर एक मानिन्छिन् । उनको पछिल्लो गीत ‘सालको पात टपरी हुने एबरै’ अहिले अत्यधिक चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७