टुँडिखेलमा साकेला उधौलीको रौनक (फोटोफिचर)


२१ पुष २०७५, शनिबार
साकेला 15

काठमाडौं,पौष २१ । किराँत राईको पर्व उधौलीको अवसरमा टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको छ। शनिवार राजधानीको सुन्धारास्थित टुँडिखेलमा किराँत राई यायोक्खा, जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित कार्यक्रममा भूमि पूजा गर्नुका साथै साकेला नाच समेत प्रदर्शन गरिएको थियो।


किराँतीहरु प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्न हरेक वर्ष बाली लगाउने समयमा उभौली र अन्नबाली पाकि सकेपश्चात् बाली भित्र्याउँदै उधौली पर्व मनाउँछन्। शनिबार टुँडिखेलमा साकेला उधौली चाड मनाउन जम्मा भएका किराँती समुदायका बालक, युवादेखि वृद्धसम्ममा उल्लासको रौनक छाएको थियो ।

मानव सभ्यतादेखि वर्तमान सययमा सम्पूर्ण समाजमा घटेका घटनालाई साकेला सिली छारा नाचेर प्रस्तुत गर्नु नै साकेला सिली हो । यसमा सिकार खेल्नेदेखि कृषि उत्पादनको युग, उद्योग उत्पादन हुँदै वर्तमान युगमा लुगा लगाएर नक्कल झक्कल आदिलाई नाचद्वारा झल्काइन्छ ।

टुँडिखेलमा किराँती पहिरनमा विभिन्न समूह बनाएर साकेला नाच्नेको निकै रौनक थियो । परिवार, आफन्त र साथीभाइका साथ कार्यक्रममा पुगेका केही नाच्नमा व्यस्त थिए भने केही खानपिनमा रमाइरहेका थिए । किराँती समुदायले परम्परागत कला, संस्कृति, वेषभूषाको संरक्षण र प्रवद्र्धनका लागि वर्षमा दुईपटक टुँडिखेलमा जम्मा भएर साकेला चाड मनाइँदै आइएको छ ।

उधौली चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेंशीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत राई प्रकृति र पितृपूजक हुन् । किराँत राईले मनाउने विभिन्न चाडमध्ये प्रमुख चाड उभौली तथा उधौली हुन् । यी चाड वर्षमा दुईपटक मनाइन्छ । मङ्सिर पूर्णिमा मनाइने चाडलाई उधौली र वैशाख पूर्णिमामा मनाइने चाडलाई उभौली र भनिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७