‘अर्ध भूमिगत’ गायिका विष्णु माझी सुटुक्क स्याङजा प्रशासनमा, भनिन्, म बन्धक छैन’


२३ पुष २०७५, सोमबार
bishnu maghi newskarobar

स्याङजा, २३ पुस । आफ्नो विषयमा चासो राख्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि चर्चित लोक गायिका विष्णु माझी सुटुक्क स्याङजा प्रशासन पुगेकी छन् ।

bishnu maghi newskarobar

गायिका माझी श्रीमानकै बन्धकमा रहेको आशंकासहितका समाचार बाहिरिएपछि आइतबार माझी परिवार प्रशासन कार्यालय स्याङ्जामा पुगेको हो । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला र प्रहरी उपरीक्षक राजकुमार लम्सालको सक्रियतामा माझी, उनका पति सुन्दरमणि अधिकारी, बाबा ताराबहादुर माझी, आमा धर्मकुमारी माझी र दाजु बाबुराम माझी प्रशासन कार्यालयमा आएका हुन् । उनीहरु झण्डै करिब डेढ घण्टा प्रशासन कार्यालयमा छलफलमा बिताएका थिए ।

टाउकोमा पछ्यौरा, मुखका मास्क, ओभर कोट र कम्बरदेखि खुट्टासम्म छोपिएको लामो स्कर्ट लगाएर आएकी माझी कार्यालय भित्र पुगेपछि मात्र मुखको मास्क खोलेर बोलेको प्रजिअ निरौलाले जानकारी दिएका छन् ।

चर्चित गायिका किन गुमनाम रहनु भएको प्रजिअ निरौलाको जिज्ञासामा माझीले आफनो इच्छा नै त्यस्तो रहेको बताइन् । माझीलाई उद्धृत गर्दे प्रजिअ निरौलाले भने, ‘बाहिरी हल्ला जस्तो मेरो भोगाई होइन, आजसम्म सुन्दरमणिले नै मलाई यहाँसम्म पुर्‍याउनु भएको हो, म बन्धक छैन । मेरो इच्छा नै बाहिर सार्वजनिक हुन नचाहने हो, म मेरो जीवनदेखि खुशी छु ।’

विष्णु माझीको परिवारसहित प्रजिअ निरौला, प्रहरी उपरीक्षक लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितको समूहले छलफल गरेका थिए । माझीका दाइ बाबुराम, बाबा ताराबहादुर र आमा धर्मकुमारी स्याङ्जाको चापाकोट नगरपालिकामा बस्छन् भने माझी बहिनी विष्णुसँगै काठमाडौंमा बस्ने गर्छिन् । ताराबहादुर माझीका दुई छोरी र एक छोरा हुन् । विष्णु र सुन्दरमणि मिडियाकर्मीसँग बोल्न चाहेनन् । उनीहरुले तस्बिर समेत सार्वजनिक नगर्न आग्रह गरेका छन् ।

आफूसंगै काठमाडौंमा रहेकी बहिनी, आमा धर्मकुमारी, दाजु बाबुरामसँग विष्णु माझीको भेट भइरहेको बताए पनि बिहेपछि पहिलो पटक बाबा ताराबहादुर माझी (बाबु–छोरी) बीच भेट भएको बताइएको छ । स्याङजा प्रशासनले माझीको विषयमा खोजी थालेको थियो । स्याङजा प्रशासनमा पनि विष्णुमा थोरै मात्र बोलेको र विष्णुलाई सोधिएका अधिकांश प्रश्नको उत्तर पनि पति सुन्दरमणिले दिएको बताइएको छ ।

गायिका विष्णुले आफू कम पढालेखा भएका कारण बाहिरी जमातमा आफू खुल्न नसक्ने बताएकी थिइन् । यता पति सन्दरमणिले भने विदेशबाट पनि विष्णुलाई प्रस्तुतीका लागि माग आउने तर, उनलाई मात्र बोलाउने भएकाले आफूले रोक्ने गरेको खुलाएका छन् । तर अझै पनि विष्णु माझीमाथिका आशंका र जिज्ञासा सम्पूर्ण रुपमा बाहिर आउन सकेका छैनन् ।

स्याङजा प्रशासनले विष्णुलाई सोधेका अधिकांश प्रश्नको उत्तर हस्तक्षेपको शैलीमा पति सुन्दरमणिले जवाफ दिनु रहस्यमयी नै देखिएको छ । विष्णुको शैली कम जमातमा मात्र रमाउने भए पनि पति सुन्दरमणि त पत्रकारहरुसँग खुलेर बोल्नु पर्ने हो । तर उनले पत्रकारहरुसँग खुलेर जिज्ञासा समाधान गर्नुको साटो तस्विर समेत खिच्न नदिनु भने रहस्यमय छ, त्यो पनि प्रशासनकै अगाडि । खैर जे भउ पनि गायिका माझीको पछिल्लो अवस्थाको सामान्य जानकारी भने बाहिर आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७