टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीद्वारा पदभार ग्रहण

एक वर्षभित्र फोर जी देशभर विस्तार गर्ने प्रतिबद्धता


२३ पुष २०७५, सोमबार
Dilli adikari MD Nepal telicom

काठमाडौँ, २३ पुस । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्ली अधिकारीले पदभार ग्रहण गरेका छन् । उनले टेलिकमको मुख्यालय भद्रकाली प्लाजामा सोमबार पदभार ग्रहण गरेका हुन् ।


सरकारले हालैमात्र खुला प्रतिस्पर्धाबाट अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । पदभार ग्रहणपछि प्रबन्ध निर्देशक अधिकारीले व्यावसायिक संस्थाका रुपमा टेलिकमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले चौथो पुस्ताको ‘फोर जी’ सेवालाई देशभर विस्तार गरिने बताए । सरकारले आगामी एक वर्ष्भित्र फोर जी सेवालाई विस्तार गर्ने कार्यादेश दिएको जानकारी दिँदै उनले सो अवधिभित्रै उक्त कार्य सम्पन्न गरिने बताए । टेलिकमले हाल काठमाडौँ र पोखरामा मात्रै फोर जी सेवा विस्तार गरेको छ ।
टेलिकमको सेवालाई गुनासोरहित गुणस्तरीय बनाउने सङ्कल्प आफूले लिएको स्पष्ट पार्दै उनले भने, ‘सेवा सुधारमा मेरो प्रमुख ध्यान रहन्छ । त्यसमा सम्पूर्ण कर्मचारीको साथ सहयोग र सक्रिय सहभागिता रहन्छ भन्ने मैले विश्वास लिएको छु ।’

याे पनि पढ्नुहाेस्
नेपाल टेलिकमको 4G सेवाको ठेक्कामा २० अर्ब भन्दा बढी घोटाला
4G ठेक्कामा अरबौं नीतिगत भ्रष्टाचार : वाम सरकारलाई चुनौती ?

ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारमा समेत नजितामुखी काम गर्ने योजनामा आफू रहेको भन्दै प्रबन्ध निर्देशक अधिकारीले सरकारको योजना र लक्ष्यअनुसार ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा विस्तार र विकासमा लाग्ने स्पष्ट पारे ।

नेपाल टेलिकमप्रति आम नागरिकको ठूलो सद्भाव, साथ तथा सहयोग रहेको भन्दै उनले व्यावसायिक कर्ममार्फत विश्वसनीय र गुणस्तरीय सेवा दिने प्रण गरे ।

कूल रु १५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमले गत आर्थिक वर्षमा रु ३९ अर्ब ४४ करोड आम्दानी गरेको थियो । टेलिकमले गत आवको नाफाबाट शेयरधनीलाई प्रतिशेयर रु ५५ मुनाफा दिने प्रस्ताव गरेको छ । हाल टेलिकमका आधारभूत र मोबाइल फोन गरी कूल दुई करोड ग्राहक छन् । शेयर बजारमा बजार पूँजीकरणका आधारमा टेलिकम सँधै अग्रस्थानमा रहँदै आएको छ । सो कम्पनीको रु एक खर्ब १० अर्ब १० करोड बराबरको बजार पूँजी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेपाल टेलिकमको शेयर दोस्रो बजारमा प्रतिकित्ता रु ७३४ मा खरीद बिक्री हुँदै आएको छ । बजार घटिरहँदासमेत नेपाल टेलिकमको शेयरमा कुनै प्रभाव परेको छैन ।

गत साउन २९ गते टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि सरकारले अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । मोबाइल ब्रोडब्याण्ड, अन्तर आबद्धता र व्याकबोन ट्रान्समिशनमा विशेष दख्खल राख्ने अधिकारीले टेलिकमलाई व्यावसायिक र थप प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७