पलायनले रित्तो बन्दैछ गाउँ, ‘गाउँमा छिमेकी नै नभएपछि कसरी बस्नु ?’

हेटौडा, २४ पुस । हेटौंडाको एक कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले देशमा ३८ प्रतिशत कृषियोग्य जमीन बाँझो रहेको र त्यसलाइ फेरि खनजोत गर्नुपर्ने विचार राखेककै दिन गढी गाउँपालिका–६ का नवराज घिमिरे एउटा गाडीमा झिटीझ्याम्टा लाद्दैै थिए ।

प्रतिनिधिमुलक तस्विर

गाउँका छिमेकीहरु सबै गाउँ छाडेर गएपछि उनको परिवार गाउँमा लगभग एक्लो हुन पुग्यो । यसरी गाउँमा एक्लिनु परेपछि आफू पनि गाउँ छाड्न बाध्य भएको उनको दुःखेसो थियो । गाउँको झण्डै ३० रोपनी जग्गा छोडेर काठमाडौंको कुनै नर्सरीमा काम गर्ने गरी जान लागेका घिमिरेले भने, ‘गाउँमा छिमेकी नै नभएपछि कसरी बस्नु ?’

घिमिरेका अनुसार उनको परिवार पनि बसाइँ सरेपछि सिमसार भन्ने यस गाउँमा अब तिमल्सिना बाको एक्लो घर मात्रै हुनेछ । गढी–६ को सिमसार भन्ने गाउँमा केही वर्ष अघिसम्म पनि चार–पाँच घरको ढकाल टोल, तीन–चार घरको आचार्य टोल, त्यति नै संख्याका घिमिरे टोल, तिमल्सिना टोल जस्ता स–साना टोलसहितको रमाइलो गाउँ थियो भन्छन् छिमेकी गाउँका वृद्ध कृष्णप्रसाद तिवारी ।

तर, आज भीमप्रसाद तिमल्सिना र कृष्णप्रसाद घिमिरे बाहेक कसैको पनि गाउँमा बसोबास छैन । बस्ती नभएपछि र नियमित मर्मत सम्भार हुन नपाएपछि ठूला गाडीहरु समेत चलिसकेको बाटोमा आजभोलि मोटरसाइकल समेत लान सकिँदैन ।

हिजो धान, मकै, गहुँ, कोदो, तोरी, मास, भटमास जस्ता अन्नबाली मात्र होइन निबुवा, कागती, बोडी, सिमी, आलु, प्याज तथा राजमा जस्ता नगदे तरकारी बालीहरु प्रशस्तै लगाउन सकिने ठाउँमा आज बहिर्गमनका कारण सिर्जित जैविक असन्तुलनले उत्पादन लगभग शून्य भएको छ । अन्नबाली उम्रन्छन् तर वन कुखुरा तथा चराचुुरुङ्गीबाट जोगाउन सकिन्न ।

फलेका फल मृग, बाँदर, स्याल तथा बँदेलहरुबाट जोगाउन सकिन्न । ‘लोकल कुखुरा खोरबाटै स्यालले झिकेर लान्छ, बाँदरहरु घरभित्र छिर्छन्, अनि गाउँमा बसेर के गर्नु ?’, घिमिरे भन्छन् ।

गाउँका सबै बसाइँ सरेर आफ्नो परिवार एक्लिनु परेपछि उनको परिवारले पनि बसाइँ सर्ने निर्णय गर्‍यो । ‘नजीकको गाउँ बाग्दलीमा घर बनाउँदैछौं, अब त्यतै सर्ने हो, खेतबारीबाट पनि आम्दानी छैन, कमाउन त पर्‍यो भनेर आफन्तको नर्सरीमा काम गर्ने गरी काठमाडाैं जान लाग्या’, उनले प्रष्ट्याए । केही वर्ष वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबको आल्माराई कम्पनीमा काम गरेपछि उनलाई नेपालमै गएर पशुपालन गर्न मन लाग्यो ।

उनले भने, ‘म पशुपालन गर्न भनेरै समय भन्दा अघि नेपाल आ’को तर, गाउँ नै खाली देखेपछि व्यवसाय गर्न मनै लागेन ।’ नवराज घिमिरे मात्र हैन उहाँको आफ्नै भाइ सुदर्शन घिमिरे पनि इजरायलमा एक वर्ष कृषिसम्बन्धी अध्ययन गरेर यहीँ कृषिमा केही गर्न सकिन्छ कि भनेर आए । काम गर्ने वातावरण नपाएपछि अब सोचै बदलिएको उनी बताउँछन् ।

साँच्चै नै सिमसारको हालत त्यस्तै छ । हिजो ५० घर भएको गाउँमा आज एक घर छ । दुई किलोमिटरको दूरीमा बल्ल एक घर भेटिन्छ । झण्डै झण्डै जङ्गलको बीचमा घर हुन पुगेको छ । अब त्यहाँ केवल हिजो गाउँ थियो भन्ने चिन्ह मात्रै जीवित छ ।

हिजो बालकहरुले खेल्न बनाएका चौरहरु, विभिन्न खेल खेल्न बनाएका डोबहरु, खेलौना गाडी कुदाउने सडक सबै छन् तर निर्जीवझै छन् । युवाले भलिबल खेल्न बनाएका मैदान वर्षौं नजोतिएको बारीका पाटाझैंं भएका छन् । बूढापाकाहरु सुस्ताउन बनेका चौतारीहरु छन् तर लेउ लागेका । कुवा छ तर, वनमाराले ढाकिएको । घरहरुका अवशेष लगभग विलीन हुँदैछन् ।

खेतका गराहरुमा खर र घाँसहरु फुलिरहेका छन् । अर्थात, धानबारीहरु लगभग खरघारी बनिसकेको छ । छिमेकी गाउँका वृद्ध कृष्णप्रसाद तिवारीले भने, ‘ऊ त्यो खरघारीे भा’को जग्गा रामशरणको हो । उसको अहिले हेटौँडामा मासु पसल छ । अनि, माथिपट्टि थोत्रो घर देखियो नि ! त्यो चाहीँ ढकाल्नी यशोदाको हो । त्यहाँ ढकालहरुको तीन–चार वटा घर थियो । अहिले कोही पनि बस्दैनन् ।’

गाउँका डिल्ली चौलागाईं, रामशरण घिमिरे, गोकुल आचार्य, रमेश आचार्य, कृष्ण आचार्य, राजु तिमल्सिना, यशोदा ढकाल, मानबहादुर तिमल्सिना, बद्री ढकाल, अर्जुन घिमिरे, ठाकुर ढकाल, गोविन्द घिमिरे, केशव ढकाल, शंकर ढकाललगायत थुप्रैको बसोबास गाउँमा छैन । घिमिरेका अनुसार कतिपय सुविधा खोज्दै हेटाैंडा, काठमाडौँ, चितवन गए भने कतिपय स्थानीय गाउँ बाग्दली, भालुखोला, धादिङ्गटोल बसाइँ सरेका छन् । सिमसार त एउटा प्रतिनिधि गाउँ मात्र हो ।

मकवानपुरगढी गाउँपालिकाका अधिकांश दुर्गम वडाको हालत यस्तै छ । गाउँपालिकाका बुढीचौर, सुकौरा, आँपटार, आमभञ्ज्याङ्गलगायतका बस्तीमा अहिले थुप्रै घरहरु खाली भइसकेका छन् ।
यी सबै समस्याहरु मकवानपुरगढी गाउँपालिकाले नजीकबाट नियालिरहेको बताउँछन् गाउँपालिका अध्यक्ष विदुर हुमागाईं ।

उनी भन्छन्, ‘म गाउँमा समस्या भएर मानिसहरु बसाइँ सरेका कुरामा विश्वास गर्दिनँ । बरु मानिसहरु बसाइँ सरिदिंदा गाउँमा समस्या भएको हो ।’ उनका अनुसार बढी जसो वैदेशिक रोजगारमा गएकाहरुले आफ्नो परिवारलाई शहरमा सारेका छन् ।

बच्चाबच्चीहरुलाई पढाउने बहानामा पनि कतिपय शहर पसेको उनको भनाइ छ । तर, कुनै पनि बहानामा गाउँ छाड्नुपर्ने बाध्यात्मक अवस्था नरहेको उनी बताउँछन् । आफैंले फलाएको ताजा तरकारी, फलफूलहरु खाएर स्वच्छ वातावरणमा जीवन बिताउनु पर्नेमा मानिसहरु गाउँ छाड्दै हिंडिरहेकामा आफूलाई अनौठो लागेको बताउँछन् अध्यक्ष हुमागाईं ।

उनी भन्छन्, ‘हामीले गाउँ गाउँमा सडक पुर्‍याएका छौं । खानेपानी, बिजुली, सिँचाइ गाउँलेहरुको जे जे माग छ, सक्दो सम्बोधन गरिरा’छौं । यति हुँदाहँुदै पनि मानिसहरु आफ्नो जन्म र कर्म भूमिलाई किन माया मारिरहेका छन्, मैले बुझ्न सकेको छैन ।’ उनी अगाडि भन्छन्, ‘म गाउँपालिकावासीलाई अनुरोध गर्छु कि तपाईहरुं गाउँमै बस्नुन्, के खेती गर्ने हो गर्नुस्, बाख्रापालन गर्नुस्, फलफूल खेती गर्नुस् । त्यसमा गाउँपालिका जस्तोसुकै सहयोग गर्न तयार छ ।’

प्रतिक्रिया दिनुहोस्