विप्लवको पार्टीले बनायो कार्बाही सूची, को–को छन् निशानामा ?


२५ पुष २०७५, बुधबार
biplaw

काठमाडौं, २५ पुस । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डलाई संखुवासभाबाट पक्राउ पुर्जी जारी हुँदा यता रुकुममा भने उनका कार्यकर्ता शैक्षिक माफियाको लिस्ट बनाएर कार्बाहीको तयारीमा छन् ।

biplaw

चन्दको पार्टीले जनयुद्धको शुरुवाती क्रममा झैं रातारात नाराहरूले भित्ता रंग्याउने कामलाई समेत तीव्रता दिएको छ । प्राप्त जानकारीअनुसार अहिले रुकुमपूर्व र रुकुम पश्चिम दुवै जिल्लामा भित्ते लेखनकार्य निरन्तर छ, यसका साथै केही शैक्षिक माफियाको लिस्ट तयार छ, जसमाथि छिट्टै कार्बाही हुनेछ ।

चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ताका अनुसार कार्बाही मोसो दल्नेदेखि पक्राउ गरेर सजग बनाउनेसम्मको हुनेछ । अहिले जिल्ला युवा सम्मेलन र विद्यार्थीको एरिया सम्मेलनलाई प्राथमिकता दिएर संगठन विस्तारमा पार्टी लागेको उनले जानकारी दिएको खबर जनआस्थाले लेखेको छ ।

रुकुम पूर्व र पश्चिमका अधिकांश गाउँका विभिन्न ठाउँमा रातारात गरिएका वाल पेन्टिङबाट बाटो छेउका घर, विद्यालय, धारा, पुल र प्रतीक्षालयलगायत ठाउँ रंगिएका छन् । ‘संसदीय व्यवस्थाको भ्रममा नपरौं, दलाल भ्रष्टाचारी होशियार, एकीकृत जनक्रान्ति जिन्दावाद, , समानता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवादको स्थापना गरौं’ लगायत नारा लेखिएको पाइन्छ ।

बढी मात्रामा भित्ते लेखन कार्य देखिएपछि १२ वर्षे लामो जनयुद्धको उद्गम थलोको रूपमा रहेको रुकुममा फेरि शंका उब्जेको छ । नेकपाले प्रहरी चौकी आसपास क्षेत्रमा राति र अन्य ठाउँमा दिउँसै पनि नारा लेख्ने गरेको पाइन्छ ।

एक बटुवाले भने, ‘यो गाउँमा खासै विप्लवको प्रभाव नभए पनि केही सदस्य त होलान् तर धेरैजसो छिमेकी जिल्ला रोल्पा, थवाङलगायत क्षेत्रबाट आएर वाल पेन्टिङ गरेको देखिन्छ ।’ महत, कार्की, रुकुमकोटलगायत क्षेत्रबाट थवाङ, घर्तीगाउँ नजिकै पर्छन् ।

नेकपा रुकुम पूर्वको नेतृत्व सेक्रेटरी नरेन्द्र विकले सम्हालेका छन् भने पश्चिमको सेक्रेटरी चन्द्रबहादुर बुढा छन् । मैकोटलगायत ठाउँमा युद्धकालीन समयकै जस्तै नाटक र विभिन्न जनवादी गीत समेटिएको साँस्कृतिक कार्यक्रम रात तथा दिनको समय पनि गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७