डा. केसीको समर्थनमा कांग्रेस नेतृहरुको र्‍याली, कांग्रेस नेताको ‘घेराबन्दी’ मा अनसन


२६ पुष २०७५, बिहीबार
kc

काठमाडौं, २६ पुस । संसदको शिक्षा समितिबाट पारित भएको चिकित्सा शिक्षा विधेयक संशोधन हुनुपर्ने मुख्य माग राख्दै इलाम सदरमुकाममा अनसन बसेका डा. गोविन्द केसीको समर्थन गर्दै आज दिउँसो इलाममा एक र्‍याली निकालिएको छ ।

kc

हिजो संसदबाट पारित विधेयक संशोधनको माग गर्दै अनसन बसेका डा. केसीको समर्थनमा इलामकी महिला समाजसेवी विष्णुकुमारी लिम्बू दहालको अगुवाईमा र्‍याली निकालिएको हो । र्‍यालीले केसीको समर्थनमा लेखिएका प्लेकार्ड बोकेर इलाम बजार परिक्रमा गरेको छ ।

र्‍याली मा इलाममा सामाजिक काममा अगुवाई गर्नेसहित स्थानीय सय जना जति महिलाहरुको सहभागिता रहेको थियो । र्‍यालीपछि इलाम चोक बजारमा सम्पन्न कोण सभामा इलामको महिला जागरण संघ नामक गैरसरकारी संस्थाकी अध्यक्ष समेत रहेकी विष्णुकुमारीले संवोधन गर्दै डा. गोविन्द केसीका माग जायज भएको, जनताको पक्षमा रहेको, इलाममा मेडिकल कलेज खोल्ने कुराले इलामेलीलाई आशा जगाएको कारण केसीको समर्थनमा आफूहरु एकजुट भएको उल्लेख गरेकी छन् ।

र्‍यालीको अगुवाइ गरेकी दहाल नेपाली कांग्रेसको इलामको अगुवा नेता समेत हुन् । र्‍यालीमा कांग्रेसका विभिन्न संगठनमा सक्रिय महिला नेता–कार्यकर्ताहरु बढी सहभागी रहेको देखिएको छ ।
र्‍यालीमा कांग्रेसका महिला कार्यकर्ताहरु बढी सहभागी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

कांग्रेस नेता–कार्यकर्ताको ‘घेराबन्दी’ मा डा. केसीको सत्याग्रह
संसदको शिक्षा समितिबाट आफूसँग भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गरिएको विरोधमा डा. गोविन्द केसीले इलाममा १६ औं सत्याग्रह थालेका छन् ।
जनताको पक्षमा आफ्नो लडाइ जारी रहने उद्घोषसहित १६ औं सत्याग्रह इलाममा शुरु गरिरहँदा सत्याग्रह स्थलको माहौल र चहल पहल भने भिन्न र रोचक देखिएको थियो ।

तीन करोड नागरिकको स्वास्थ्यको मुद्दालाई उठाएर शुरु गरिएको भनिएको डा. केसीको सत्याग्रह स्थलमा स्वास्थ्य क्षेत्रका मानिस, सर्वसाधरण र सामाजिक क्षेत्रका अगुवा भन्दा पनि नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुको उपस्थिति बाक्लो थियो भने उनीहरुको सक्रियता अन्य कार्यक्रमहरुमा भन्दा बढी देखिएको थियो ।

यहाँसम्मकी डा. केसीको सत्याग्रह व्यवस्थापनका लागि इलामका जिल्ला नेतृत्व तहका नेता–कार्यकर्ता निकै फूर्तिका साथ खटिरहेको दृष्यले डा. केसीको सत्याग्रहप्रति सर्वसाधरणले भने प्रश्न उठाइरहेका थिए । सत्याग्रह शुरु गर्नअघि आयोजित डा. केसीको पत्रकार सम्मेलनमा कांग्रेस नेता–कार्यकर्ता मात्र होइन पत्रकारहरु समेत कांग्रेस निकटका नै बढी देखिएको एक प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

डा. केसीको सत्याग्रहलाई केन्द्रमा सत्ता पक्षविरुद्धको आलोचनाको हतियारका विपक्षी दल नेपाली कांग्रेसले प्रयोग गरिरहेको सन्दर्भमा डा. केसीले इलाममा शुरु गरेको सत्याग्रहमा इलामका कांग्रेसजनमा केन्द्रकै सिको गरेको सहज रुपमा सर्वसाधरणले महसुस गर्न पाए । डा. केसीले इलाम सदरमुकामको शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको डिभिजन कार्यालय रहेको खाली भवनमा बुधबार साढे चार बजेदेखि सत्याग्रह शुरु गरेका हुन् ।

ryali1

डा. केसीलाई सत्याग्रह बस्ने उचित स्थान छनौटका लागि समेत कांग्रेसका नेता–कार्यकर्ताले चाँजोपाँजो मिलाएको स्रोतले जानकारी दिएको छ । डा. केसीले सत्याग्रह शुरु गरेको खबर कांग्रेसी नेता–कार्यकर्ताहरुको फेसबुक वालमा छ्यापछ्याप्ती देख्न सकिन्छ । जसले सर्वसाधरणले केसीको सत्याग्रहमा राजनीतिक गन्ध पाउनु अस्वभाविक होइन ।

डा. केसीका मागहरु बाहिर सुन्दा जनताको पक्षमा जस्तो देखिए पनि उनको आन्दोलनमा कांग्रेसी रङ्ग देखिएको केसीको अनसनस्थलको माहौल नियालेका एक प्रत्यक्षदर्शीले बताएका छन् । उसो त डा. केसीको इलामको सत्याग्रहमा मात्र होइन काठमाडौंका गतिविधिमा पनि डा. केसीका मुद्दालाई कांग्रेसले आफ्नै मुद्दा सरह वहस र पैरवी गर्दै आएको छ ।

ryali

डा. केसीको मुद्दालाई अहिले राजधानीमा समेत कांग्रेस नेताहरुले सत्ता पक्षको आलोचनामा खर्च गरिरहेका छन् । कांग्रेस सांसद गगन थापाले खुलेर नै डा. केसीका मुद्दालाई सदुपयोग गर्दै सत्ता पक्षको आलोचनामा खर्चिरहेका छन् । कांग्रेस नेताहरुले डा. केसीको आन्दोलनका एजेण्डालाई आफ्नो अनुकूलमा व्याख्या गर्न थालेपछि अहिले सर्वसाधरणमा डा. केसीको आन्दोलन कसका लागि हो भन्ने कुरामै अन्योल र भ्रम सिर्जना हुन थालेको छ । उसो त डा. केसीले नै यो सत्याग्रह केपी ओली, प्रचण्डलगायतका शीर्ष नेताविरुद्ध भएको सार्वजनिक रुपमै बताइसकेका छन् ।

सत्याग्रहका लागि इलाम रोज्नुको खास कारण
डा. गोविन्द केसीले आफ्नो १६ औं सत्याग्रह शुरु गर्नुअघि नै इलाम पुगेका थिए । अनसनका लागि डा. केसीले इलमलाई उपयुक्त ठहर गर्नुका पछाडि पनि केहि खास कारणहरु रहेको स्पष्ट बुझ्न सकिन्छ ।

6916329511

एक साताअघि नै इलाम पुगेर आएका डा. केसीले रेकीपछि इलामस्थित शहरी विकास तथा भवन निर्माण विभागअन्तरगत डिभिजन कार्यालय इलामको पूरानो कार्यालयलाई आफ्नो सत्याग्रहको उपयुक्त ठाउँ ठाने । डा. केसी रेकी गर्न इलाम पुगेकै साता प्रधानमन्त्री केपी शर्मा ओली पनि नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनमा भाग लिन इलाममै पुगेका थिए ।

डा. केसीको इलाममा अनसन बस्नुको खास कारण नेकपा नेता केपी शर्मा शर्मा ओली, झलनाथ खनाल, सुवास नेम्वाङ र योगेश भट्टराईमाथि दबाव सिर्जना गर्ने र उनीहरुलाई जनतासामु खुइल्याउने दाउ समेत हो । ताप्लेजुङ, इलाम, पाँचथर र झापामा नेकपाको बलियो जनमत छ . डा. केसीले आफ्नो मागपत्रमा इलाममा सरकारी मेडिकल कलेज खोलिनु पर्ने उल्लेख गरेका छन् । तेह्रथुम, ताप्लेजुङ र पाँचथरका जनतालाई ध्यान दिँदै इलाममा सरकारी मेडिकल कलेज खोलिनु पर्ने अनसनरत डा. केसीको माग छ । आफ्नो यो मागलाई पूर्वी पहाडी जिल्लाका जनताले समर्थन गर्ने र यसबाट सीधै नेकपाका नेताहरुमाथि दबाव सिर्जना हुने डा. केसीले विश्लेषण गरेको देखिन्छ ।
यस्ता छन् डा. केसीका माग

१) १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् ।

२) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णय बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर,तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममास सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमास सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

४) निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्रा्िष्ट्रय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् ।

६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाण्डौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७