दोस्रो विहे गर्ने कर्मचारीले पेन्सन नपाउने, पेन्सन र उपदान राेज्न पाइने


२६ पुष २०७५, बिहीबार
karmachari staff covil wNY50lo5Zy

काठमाडौं, २६ पुस । के तपाई सरकारी कर्मचारी हुनुहुन्छ ? अनि सरकारले भर्खरै लागू गरेको कर्मचारी समायोजन अध्यादेशका बारेमा कतिको जानकार हुनुहुन्छ ? संघीय निजामती सेवा ऐनले कर्मचारीहरुका लागि केहि नयाँ व्यवस्थाहरु गरेर आएको छ ।

karmachari staff covil wNY50lo5Zy 1

यदि तपाई सेवाबाट अवकाश पाइसक्नु भएको निजामती कर्मचारी हुनुहुन्छ भने अब तपाईले पेन्सन वा उपदानमध्ये कुनै एक रोज्न पाउनु हुने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा पेन्सन वा उपदानमध्ये कुनै एउटा रोज्ने अवसरको व्यवस्था गरिएको हो ।

यसअघि निजामती कर्मचारीहरुको सेवा अवधि २० वर्ष पूरा भएपछि पेन्सन नै लिनुपर्ने बाध्यकारी व्यवस्था थियो, संघीय निजामती सेवा ऐनको मस्यौदामा त्यसलाई हटाएर स्वेच्छिक बनाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ६१ मा निवृत्तभरणको व्यवस्था राखिएको छ । दफा ६१ को उपदफा ५ मा लेखिएको छ, ‘कुनै निजामती कर्मचारीले २० वर्ष सेवा अवधि नपुग्दै यस ऐन बमोजिम अनिवार्य अवकाश पाउने भएमा त्यस्तो निजामती कर्मचारीको कुल नोकरी अवधिकै आधारमा उपदफा (१) बमोजिम हुने निवृत्तभरण वा दफा ६० बमोजिम हुने उपदानमध्ये जुन लिन चाहन्छ सोही सुविधा दिइने छ ।

उपदफा १ मा २० वर्ष सेवा वा सोभन्दा बढी अवधि सेवा गरेको निजामती कर्मचारीलाई मासिक निवृत्तभरण (पेन्सन) आजीवन पाउने उल्लेख छ । यसरी मासिक निवृत्तभरण दिँदा जम्मा सेवा वर्षलाई अन्तिम महिनाको तलबको रकमले गुणा गर्ने र त्यसको योगफललाई ५० ले भाग गर्दा जति अंक आउँछ, त्यति रकम मासिक पेन्सनको रुपमा सरकारले उपलब्ध गराउँछ ।

यसैगरी दफा ६० मा पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तभरण पाउने अवधि नपुगेको निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने पदबाट हटाइएमा उपदान पाउने व्यवस्था छ ।
पाँच वर्षदेखि १० वर्षसम्म सेवा गरेका कर्मचारीले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलबको रुपमा उपदान पाउने छ ।

यस्तै १० वर्षभन्दा बढी १५ वर्षसम्म सेवा गरेका कर्मचारीले प्रत्येक वर्षको आखिरी एक महिनाको तलब र १५ वर्षभन्दा बढी २० वर्षभन्दा कम सेवा गरेका कर्मचारीले प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब उपदान स्वरुप पाउने छन् ।
उमेर हद ५८ नै कायम

दफा ६१ को उपदफा २ मा लेखिएअनुसार पेन्सनको न्युनतम रकम समान पदको बहालवाला निजामती कर्मचारीको तलबको शुरुको अंकको आधाभन्दा कम र अधिकतम रकम समान पदको बहालवाला निजामती कर्मचारीको तबलको शुरु स्केलभन्दा बढी हुने छैन ।

१५ वर्ष सेवा अवधि पूरा गरेको कुनै निजामती कर्मचारीको मृत्यु भएमा निजको सेवा अवधिमा बढीमा पाँच वर्ष अवधिसम्म थप गरेर निजको परिवारलाई पेन्सन वा उपदान जुन लिन चाहन्छ सो रोजेर दिइने छ ।

कर्मचारीको उमेर हद भने ५८ नै कायम गरिएको छ । यसअघि अवकाशको उमेर ६० वर्ष बनाउने तयारी भएको थियो । कुनै सरकारी पदमा अघि गरेको सेवा वापत निवृत्तभरण पाइरहेको व्यक्ति पछि संघीय निजामती सेवाको पदमा नियुक्त भएमा निजले पछि गरेको सेवा अवधिमा अघि गरेको सेवा अवधि पनि जोडिने छ र सोही अनुसार पेन्सन पनि लिन पाउने छ ।

यदि पेन्सन पाइरहेको निजामती कर्मचारीले अन्य मुलुकको नागरिकता लिएको प्रमाणित भएमा पेन्सन पाउने छैन तर गैरआवासीय नेपालीको हकमा भने प्रचलित कानुन बमोजिम हुने संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख छ ।

बहालवाला कर्मचारीको तलब वृद्धि भएमा अवकाश प्राप्त कर्मचारीको पेन्सनमा वृद्धि हुने छ । दफा ६२ मा लेखिएको छ, ‘बहालवाला निजामती कर्मचारीको तलव बृद्धि हुँदा तलबको सुरु अंकमा जति भएको छ त्यसको दुई तिहाइ रकम समान पदका सेवा निवृत्त निजामती कर्मचारीको निवृत्तभरणमा पनि थप गरिने छ ।’

कुनै निजामती कर्मचारीको सेवामा छँदै मृत्यु भएमा निजको मृत्यु भएको सात वर्षसम्म र निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा सात वर्ष बाँकी अवधि निजको परिवारलाई उपदान वा निवृत्तभरण दिइने छ ।

अर्को बिहे गरे पेन्सन नपाउने
निवृत्तभरण विधुर पति वा पत्नीले समेत पाउने व्यवस्था गरिएको छ । तर विधुर पति वा पत्नीले अर्को बिहे गरेमा भने पेन्सन पाउने छैन । निजामती कर्मचारीको पेन्सन पाइरहेको विधुर पति वा विधुवा पत्नीको मृत्यु भएमा वा निजले अर्को बिहे गरेमा त्यस्तो निजामती कर्मचारीको छोरा–छोरीलाई २१ वर्ष उमेर पूरा नभएसम्म पेन्सन रकम सरकारले उपलब्ध गराउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७