वैकल्पिक ऊर्जा केन्द्रमा कार्यकारी निर्देशक नियुक्ति प्रकरणः पूर्व एमाले र माओवादीको किचलो


२७ पुष २०७५, शुक्रबार
madhusudan adhikari

काठमाडौं, २७ पुस । नवीकरण ऊर्जाको विकास गर्न स्थापित वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको कार्यकारी निर्देशक छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जलस्रोत, ऊर्जा तथा सिंचाई मन्त्रालयले गएको मंसिर १ मा केन्द्रको कार्यकारी निर्देशकका लागि २१ दिनको समयसीमा तोकेर आवेदन माग गरी सूचना प्रकाशित गरेको थियो । केन्द्रको कार्यकारी निर्देशकका लागि ११ जनाले आवेदन दिएका छन् ।

madhusudan adhikari
नवराज ढकाल, मधुसुदन अधिकारी, अनन्त घिमिरे र डा. रविन्द्र ढकाल

आवेदन दिनेमा केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकाल, मधुसुदन अधिकारी, प्रमोद पोखरेल, डा. सरोज कोइराला, डा. बलबहादुर पराजुली, डा. बुद्धि नेपाली छन् । त्यसैगरी डा. रविन्द्र ढकाल, अनन्त घिमिरे, डा. लक्ष्मण पौडेल र धर्म जीसी लगायतले आवेदन दिएका छन् ।

आवेदन दिनेहरुमध्येबाट छनोट समितिले कस कसको तोकिएको योग्यता पुगेको छ भनेर छनोट गरिरहेकोे छ । केन्द्रको कार्यकारी निर्देशकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, ब्यवस्थापन, इन्जीनीयरीङ वा ऊर्जा सम्बन्धी बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी बैकल्पिक ऊर्जा क्षेत्रमा कम्तीमा १० बर्ष काम गरेको हुनुपर्ने न्यूनतम शैक्षिक योग्यता र अनुभव आवेदकसँग हुनुपर्नेछ । छनोट समितिकै एक सदस्यका अनुसार कतिपय उम्मेदवारको योग्यता र अनुभव नै पुगेको छैन ।

केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकालकै योग्यता नपुग्ने देखिएको छ । ढकालसँग ऊर्जा क्षेत्रको १० बर्षको अनुभव नभएकाले उनी सर्टलिष्टिङमा समेत पर्न नसक्ने स्रोतको दाबी छ । दाङ घर भएका अर्का आवेदक अनन्त घिमिरेको पनि ऊर्जा क्षेत्रमा काम गरेको १० बर्षको अनुभव छैन । ढकालसँग ७ बर्ष अनुभव भए पनि घिमिरेसँग त ऊर्जा क्षेत्रमा काम गरेको कुनै अनुभव नै नभएकाले उनी पनि छनोटबाट बाहिरिने संभावना छ । ढकाल नेकपामा साविक एमालेका नेताहरुको आडमा कार्यकारी निर्देशक हुने कुरामा ढुक्क देखिएका छन् भने घिमिरे साविक माओवादी केन्द्रका राप्तीका नेताहरुको आडमा भिडेका छन् । पन्थीलाई नेकपाका महासचिव बिष्णु पौडेलको आशीर्वाद रहेको छ । घिमिरेलाई ऊर्जामन्त्री बर्षमान पुन र सभामुख कृष्णबहादुर महराको आशीर्वाद छ । घिमिरे मध्यपश्चिमान्चल विश्वविद्यालयका पूर्व डिन हुन् ।

दौडमा रहेकामध्ये प्रमोद पोखरेल पनि हुन् । उनी त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्माका ज्वाई भएकाले नियुक्ति हुने आशामा छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका विज्ञान प्रविधि सल्लाहकार रहेका डा. रविन्द्र ढकाल पनि केन्द्रको कार्यकारी निर्देशकका प्रबल दाबेदार मानिन्छन् । गोरखाका उनी अध्यक्ष दाहालसँग निकट बुद्धिजीवी मानिन्छन् ।
एमाले–माओवादी भागबण्डाको किचलो
एमाले र माओवादी एकतापछि नेकपा गठन भएको ८ महिना भइसकेको छ । तर राजनीतिक नियुक्तिका क्रममा पुनः एमाले माओवादी भागबण्डाको कुरा निस्किएको छ । नेपाल आयल निगमको प्रमुखमा सुरेन्द्र पौडेल एमाले पृष्ठभूमिका नियुक्ति भएकाले बैकल्पिक ऊर्जा केन्द्रको कार्यकारी निर्र्र्देशकमा माओवादी पृष्ठभूमिका अनन्त घिमिरेलाई नियुक्ति गर्नुपर्ने लबिङ पनि सुरु भएको छ । हालका कामु कार्यकारी निर्देशक ढकाल एमाले पृष्ठभूमिका भएकाले केन्द्रमा माओवादीनिकट घिमिरेको नियुक्ति गर्न राप्तीका माओवादीहरुले लबिङ गर्न थालेका हुन् ।

केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालको कार्यकाल गएको साउन अन्तिममा सकिएपछि कामु कार्यकारी निर्देशकका रुपमा ढकालले काम गर्दैआएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७