नेविसंघका उपाध्यक्षसहित ८ पदाधिकारीको सामुहिक राजीनामा


२७ पुष २०७५, शुक्रबार
nebisang

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का ८ जना पदाधिकारीले सामुहिक राजीनामा दिएका छन् ।

nebisang

नेविसंघ सभापति नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई उनीहरुले राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् । सभापति देउवालाई बुझाइएको राजीनामा पत्रमा सहमहामन्त्री चलाउनेको भने हस्ताक्षर गरिएको छैन ।

महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि आफूहरुले संगठनलाई निकास दिन पदबाट राजीनामा दिएको उपाध्यक्ष शाहीले बताएका छन् । ‘हाम्रो समायावधि भदौ २ मै सकिएको थियो ।

तर विधानतः तीन महिना थप गरेर अधिवेशन गराउन लाग्यौं’,’ उनले भने, ‘त्यो अवधिमा अधिवेशन हुन सकेन, पार्टीले फेरि २ महिना थपेपछि घोषणा गरिएको समयमा अधिवशेन हुन नसक्ने देखिएपछि हामीले संगठनलाई अनिर्णयको बन्दी बनाउन हुँदैन भनेर राजीनामा दिएक हौं ।’’

दोस्रो पटक म्याद थप भएपछि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो । तर महाधिवेशन घोषणा गरेको मिति आइसक्दा पनि नेविसंघले मात्र १४ जिल्लामा अधिवेशन सम्पन्न गर्न सकेको छ । दुई जिल्लामा अधिवेशनको उद्घाटन सम्पन्न भए पनि आन्तरिक विवादका कारण नेतृत्व चयन हुन सकेको छैन । महर नेतृत्वको कार्यसमितिको समयावधि माघ २ गते सकिँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७