सिङ्गो गाउँ लालपुर्जाविहीन


२७ पुष २०७५, शुक्रबार

बाँके, २७ पुस । नेपालगञ्ज उपमहानगरपालिका भित्रकै सिङ्गो मनिकापुरगाउँ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठूला ठूला भवन निर्माण भइरहेका छन् ।

lalpurja 1

यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजश्व नै पाएको छ । यसले व्यापारिक शहर नेपालगञ्ज उपमहानगरपालिका नै लालपुर्जाविहीन शहरका रूपमा चिनिन थालेको छ ।
मनिकापुरमा ७५ प्रतिशत नागरिक लालपुर्जाको आसमा बसेको ५० वर्ष बितिसकेको छ ।

मनिकापुरमा कुनै पनि निर्वाचन हुँदा लालपुर्जा नै मुख्य मुद्दा बन्ने गरेको छ । विसं २०४६ पछि पनि कांग्रेस र तत्कालीन एमालेले अधिकांश समय तत्कालीन गाविसको सत्ता सञ्चालन गर्दै आए पनि कसैले लालपुर्जा पाउन नसकेको नेपालगञ्ज–२० का वडाध्यक्ष कृष्ण कार्की बताउँछन् ।

साविकको मनिकापुर गाविस अहिले नेपालगञ्ज उपमहानगरपालिकामा गाभिएको छ । चुनावका बेला चर्चा हुने तर, चुनाव सकिएपछि लालपुर्जाको मुद्दा सेलाउने गरेको वडाध्यक्ष कार्कीको भनाइ छ । मनिकापुरका मदनापुर, नयाँबस्ती, बाबाघाट, फारमछोल, गायत्रीनगर, प्रेमनगर, पोतेदारपुर, थपुवालगायतका गाउँ अहिले पनि लालपुर्जाविहीन अवस्थामा रहेको वडाध्यक्ष कार्कीले बताए ।

‘यी गाँउका ७५ प्रतिशत नागरिक लालपुर्जाको पर्खाइमा छन्’, उनले भने, ‘घर जग्गाको लालपुर्जा नहुँदा करोडौं लगानी गरेर बनाएका घर सम्पत्तिको मूल्याङ्कन हुनसकेको छैन । बैंकले ऋण दिंदैन । उद्योग कारखाना चल्दैन ।’ वडाध्यक्ष कार्कीका अनुसार विसं २०२४ देखि बसोबास गर्दै आएका व्यक्ति समेत अझै लालपुर्जाको आशमा छन् ।

‘जुनसुकै पार्टीको सरकार बने पनि मनिकापुरवासीको माग कहिल्यै सुनुवाइ भएन’, स्थानीयवासी लक्ष्मी शर्माले भनिन्, ‘पुर्जा त चुनावी नारा मात्रै भए ।’ गएको स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारले पुर्जा दिलाउने कुरा महत्वका साथ उठाएका थिए । उनले थपिन्, ‘घर बनाएर बसेको २५ वर्ष भइसक्यो तर, लालपुर्जा हातमा छैन । हामी जग्गा अतिक्रमण गरेर बसेको पनि होइन तर सुकुम्वासी जस्तै भएका छौं ।’

मनिकापुरमा १२ हजार ४११ जनसंख्या रहेको छ । जसमा छ हजार ५९ महिला, ६ हजार ३४१ पुरुष र ११ अन्य रहेका छन् । मनिकापुरमा रहेका दुई हजार ४६२ घरधुरीमा ७५ प्रतिशत घरधुरी लालपुर्जाविहीन रहेको वडाध्यक्ष कार्की बताउँछन् । करीब ५० वर्षदेखि पुर्जाविहीन उक्त वडामा अहिले साना, मझौला र ठूला गरी दर्जन बढी विभिन्न उद्योग स्थापना भएका छन् । अधिकांश उद्योगको भौतिक संरचना लालपुर्जाविहीन जमीनमै निर्माण गरिएका छन् ।

यसरी अस्थायी जमीनमा स्थायी संरचना बनिसके पनि नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरवासीलाई लालपुर्जा दिनेतर्फ अहिलेसम्म कुनै चासो देखाएको छैन । स्थानीयवासीले स्थायी लालपुर्जाका लागि वडा कार्यालयमार्फत नगरपालिका र सरकारसँग पटक पटक माग गर्दै आएका छन् । तर, ५० वर्षदेखि कसैले पनि चासो नदेखाएको स्थानीय कमला शर्मा बताउँछिन् ।

स्थानीय मागअनुसार सिङ्गो गाउँलाई नै लालपुर्जा उपलब्ध गराउन उपमहानगरपालिकामा प्रस्ताव राखेको बताउँदै वडाध्यक्ष कार्कीले भने, ‘वडाले केही गर्न सक्दैन । उपमहानगरपालिकामा कुरा पुर्‍याएको छु, तर, सुनुवाइ हुनसकेको छैन । म निरन्तर लागिरहेको छु ।’ लालपुर्जा नै नहुँदा स्थानीयवासी नागरिक सरकारी सेवा सुविधाबाट बञ्चित मात्रै भएका छैनन्, सरकारी राजश्वमा पनि कमी आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७