डेढ वर्षपछि जग्गाको कित्ताकाट खुला, घडेरी ‘प्लटिङ्ग’ का लागि कित्ताकाट गर्न नपाइने


२७ पुष २०७५, शुक्रबार
land plotting

काठमाडौं, २७ पुस । सरकारले डेढ वर्षदेखि लगाउँदै आएको जग्गा कित्ताकाटको प्रतिबन्ध खुला गरेको छ ।

land plotting

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज एक पत्रकार सम्मेलन आयोजना गरी जग्गाको कित्ताकाट खुला गरिएको जानकारी दिएकी छन् । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले जग्गाको कित्ताकाट खुला गरिएको भए पनि खेतीयोग्य जमिन घडेरीका लागि प्लटिङ्ग गर्न भने नपाइने जानकारी गराएकी छन् । गएको वर्ष साउन २६ गतेदेखि बन्द गरिएको कित्ताकाट शुक्रबारबाट खुला गरिएको हो ।

‘अघिल्लो निर्णयलाई पुनरावलोकन गरिएको छ’, पत्रकार सम्मेलनमा मन्त्री अर्यालले भनिन्, ‘घर व्यवहार नै रोकिएको भन्ने जनगुनासो आएपछि निर्णयको पुनर्विचार गरिएको हो ।’ अर्यालले उक्त निर्णय तत्कालका लागि पुनरावलोकन गरिएको भने प्रष्ट पार्दै कृषियोग्य जमिनको हकमा भने कित्ताकाट गर्न नपाइने बताएकी छन् ।

padma aryal

‘खेतीयोग्य जग्गा कुनै प्रकारले प्लटिङ गरी घरेडीको रुपमा कित्ताकाट गरी बिक्री वितरण गर्न वा हक हस्तान्तरण गर्ने गरी लिखत पास गरिने छैन’, उनले भनिन् । खेतीयोग्य जमिन भए नभएको पहिचान भने स्थानीय तहले गर्ने जनाइएको छ । त्यसका लागि स्थानीय तहमा प्राविधिक जनशक्ति पठाइने मन्त्री अर्यालले बताएकी छन् ।

कित्ताकाट खुला गर्ने निर्णय अस्थायी भएको समेत मन्त्री अर्यालको भनाइ छ । दीर्घकालीन रुपमा ऐनबाटै जग्गाको वर्गीकरण गरी व्यवस्थापन गरिने उनले प्रष्ट पारिन् । मन्त्री अर्यालले मापदण्ड विपरीत कित्ताकाट गर्नेलाई कार्बाही गर्ने चेतावनी दिएकी छन् । बीचमा केही व्यक्तिले चलखेल गरेर केही स्थानमा कित्ताकाट गरे पनि औपचारिक रुपमा खुलेको थिएन । घरजग्गा कारोबारीले खेतीयोग्य जमिन प्लटिङ गरेर व्यवसाय गर्न थालेपछि सरकारले कित्ताकाट रोक गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७