अमेरिकी राष्ट्रपतिमा पहिलो पटक हिन्दू महिलाको उम्मेद्वारी


२८ पुष २०७५, शनिबार
Tulsi Gabbard9674

काठमाडौं, २८ पुस । अमेरिकाको नयाँ राष्ट्रपति पदमा पहिलो पटक एक हिन्दू महिलाले उम्मेद्वारी दिने तयारी गरेकी छिन् । उनले आउँदो हप्ता औपचारिक रुपमा उम्मेद्वारीको घोषणा गर्ने बताएकी छिन् ।

Tulsi Gabbard9674

सीएनएनसँगको कुराकानीमा अमेरिकाकी प्रथम हिन्दू सांसद समेत रहेकी तुलसी गबार्डले २०२० को राष्ट्रपति निर्वाचनका लागि आफूले उम्मेद्वारी दिने निर्णय गरेको बताएकी हुन् ।

उनले यस निर्णय लिनुका पछाडि कयौँ कारण रहेको भन्दै उनले विभिन्न चुनौतीको सामना गरिरहेका र मेरो बारेमा चिन्तित रहेका नागरिकलाई आफूले सहयोग गर्न चाहेको बताइन्। कुराकानीका क्रममा उनले भनिन्, ‘यहाँ स्वास्थ्य सेवाको पहुँच, अपराधिक न्याय सुधार तथा जलवायु परिवर्तन जस्ता मुख्य समस्या छन् । म त्यस्ता समस्यासँग जुध्न चाहन्छु ।’

३७ वर्षकी तुलसीले हवाई राज्यबाट ४ पटकसम्म सांसद पदमा निर्वाचन जितिसकेकी छिन् । तुलसीले हरेक पटक चुनाव जित्दा विशाल अन्तरले प्रतिद्वन्द्वीलाई पराजित गरेकी छिन् । राजनीतिमा आउनुभन्दा अगाडि उनी सैनिक थिइन् । अमेरिकी सेनामा रहँदा उनी १२ महिनासम्म इराकमा तैनाथ भइसकेकी छिन् ।

उनले आउँदो हप्ता उम्मेदवारीको घोषणा गरिन् भने अकेरिकामा नयाँ इतिहास बन्ने छ । अहिलेसम्म अमेरिकी राष्ट्रपति पदमा कुनै पनि हिन्दूले उम्मेदवारी दिएका छैनन् । यदि उनले राष्ट्रपति निर्वाचन जितिन् भने एकैपटक ३ रेकर्ड बन्नेछन् । निर्वाचित भएमा उनी अमेरिकाकी प्रथम हिन्दू राष्ट्रपति, प्रथम महिला राष्ट्रपति र सबैभन्दा कम उमेरकी राष्ट्रपति बन्नेछिन् ।

केही महिना अघिदेखि केही हिन्दू अमेरिकीहरुले भारतीय तथा नेपाली मूलका अगुवाहरुलाई इमेल पठाउँदै अमेरिकाको राष्ट्रपति पदमा हिन्दू उम्मेदवारको सम्भावनाबारे राय मागेका छन् ।

तुलसी गबार्डको जन्म अमेरिकाको समोआमा एक क्याथोलिक परिवारमा भएको थियो । उनकी आमा ककेशियन हुन् । उनकी आमाले हिन्दू धर्म अपनाएकी थिइन् । तुलसी २ वर्षकी हुँदा उनको परिवार हवाइ सरेको थियो । पछि तुलसीले पनि हिन्दू धर्म अपनाइन् ।

२०१२ मा पहिलो पटक उनी हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वा्चित भएकी थिइन् । तुलसी प्रथम अमेरिकी सांसद हुन्, जसले भागवत गीताको नाममा शपथ लिएकी थिइन् । तुलसी नेपाली तथा भारतीय मूलका अमेरिकीहरुमाझ लोकप्रिय छिन् । यहुदी अमेरिकीपछि भारतीय मूलका अमेरिकी समुदाय अमेरिकामा सबैभन्दा प्रभावशाली र धनी समुदाय मानिन्छ । स्रोत ः सीएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७