हाम्रो विवाह लामो समय टिक्न सकेन, तर एक-अर्काबाट धेरै सिक्यौ : रवीन्द्र मिश्र


२८ पुष २०७५, शनिबार
Rabindra mishra

हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो । तर हामीले अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक–अर्कालाई राम्ररी नचिनिकनै विवाह गरेछौं । विवाह लामो समय टिक्न सकेन । तर यो बीचमा हामीले एकअर्काबाट धेरै सिक्यौं ।

Rabindra mishra 1

खासगरी गत आम निर्वाचनपछिको एक वर्षमा पार्टीको केन्द्रीय समितिमा विद्यमान ‘अत्यन्तै प्रतिकूलता’ का बीच पनि हामीले ठूलै उपलब्धि हासिल गर्यौं। आफूलाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्यायौं । सञ्चार माध्यमका कयौं बहसहरू हाम्रो प्रतिनिधित्वबिना अपूरो देखिन थाले । राजनीतिक बहसहरूमा अबको विकल्प हामी नै हौं भन्ने निष्कर्षहरू निकालिन थाले। देशभरि संगठनहरू विस्तार हुन थाले ।

हामीले ‘कल्याणकारी लोकतन्त्र’को दर्शनलाई आम सर्वसाधारणसम्म पुर्यायौं, शिक्षा र स्वास्थ मूलरूपमा राज्यको दायित्व हो भन्ने धारणालाई स्थापित गर्यौं । सुसंस्कृत र मूल्यमान्यतायुक्त पार्टी नबनी देश बन्दैन भन्ने विश्वास जगायौं ।

आम सर्वसाधारणले हामीलाई पत्याए र साथ पनि दिए । तर लक्ष्यमा समानता भएर मात्र नपुग्ने रहेछ । लक्ष्यमा पुग्ने विचार र व्यवहारमा पनि समानता चाहिने रहेछ । दुर्भाग्यवश, लक्ष्य प्राप्त गर्ने हाम्रा वैचारिक चक्र र व्यवहारमा यति धेरै अन्तर रहेछन् कि हामीले जतिसुकै प्रयास गर्दा पनि ती एकवद्ध हुने संभावना नै रहेन छ । त्यसैले तपाईंहरू अनायासै घर छोडेर जानुभयो ।

सामाजिक रूपमा असल र भद्र देखिने हामीहरू समेत गलत निर्देशकहरूका कारण राजनीतिक मञ्चमा फरक पात्र बन्न सक्दा रहेछौं भन्ने अनुभूति भएको छ । हामी छुट्टिएको देखेर यहाँ रमाउनेहरू धेरै छन् । मन दुखाउनेहरू अझ धेरै छन् ।

हामी सबैलाई थाहा छ, हामीबीच अभियान केन्द्रित समूह मात्र बन्ने कि राष्ट्रिय राजनीतिमा सुसंस्कृत नेतृत्वदायी भूमिका निर्वाह गरेर देश रूपान्तरण गर्ने पार्टी बनाउने भन्नेमा मतभेद थियो । त्यो मतभेद छलफलबाट टुङ्गिन नसकिने तहको थिएन । तर तपाईंहरू जानुभयो र गएदेखि नै आरोपै आरोप लगाउनु भयो ।

मलाई ती पीडादायी आरोपहरूको भन्दा पनि हाम्रो सामूहिक लक्ष्य र त्यसमा पुग्नसक्ने आघातकाबारे चिन्ता छ । हाम्रै जीवनकालमा यो देशको रूपान्तरण नहेरी मर्नुपर्ला भन्ने चिन्ता छ । पुस ३० गतेका लागि तय गरिएको हाम्रो भेटमा आत्मै पखालेर मनका पीडा पोखुँला भन्ने र दिनढाडै व्यक्तिगतरूमा मेरो र संगठनात्मकरूपमा पार्टीको ढाडमा हानिएको छुरीले पारेको घाउमा मल्हम लगाउँला भन्ने सोच थियो । तर अलि ढिलोसम्म पर्खिएछु, तपाईंहरू थाहै नदिइ हिँडि हाल्नुभयो ।

अब एकपल्ट भेटेर प्रेम र भ्रमका कुरा गर्ने मन छ । लक्ष्य बोकेर मात्र नहुने रहेछ, लक्ष्यमा पुग्ने शैली र चरित्रकाबारे गफ गर्ने मन छ । जीवन धेरै बाँकी छ, यात्रा लामो छ । तर देश रूपान्तरणको गन्तव्य भने मैले बदलिँदो परिवेशका कारण झन, झन छोटो देख्न थालेको छु । त्यो नजिकै देखिन थालेको गन्तव्यलाई म विगार्ने पक्षमा छैन । सिँगो देश बनाउन सानो मुटु लिएर हुन्न । देश बनाउन देशभन्दा ठूलो मुटु चाहिन्छ । सँगसँगै इमानदारी, क्षमता, समूहमा काम गर्ने ढंग पनि चाहिन्छ । धेरै कुरा चाहिन्छ ।

दुःख छ तर कुनै आग्रह, पुर्वाग्रह, इष्र्या, द्वेष छैन । कहिल्यै नआओस् पनि । दुःखहरू चाहिँ कहिलेकाहीँ अभिव्यक्त हुनेछन् । त्यसमा अन्यथा नसम्झिदिनु होला । तपाईंहरूले हालैका दिनहरूमा व्यक्त गरेका दुःखलाई पनि मैले अन्यथा लिएको छैन ।

छिटै बसेर चिया खाउँला । मिलेमा लामो समयदेखि जाने भनेर नगएको ओम आध्या रिसोर्ट जाउँला । के थाहा पुनर्मिलन भई पो हाल्छ कि । घाम भर्खर उदाएको अवस्था हो, बादल लाग्दैमा त्यसलाई अस्ताएको भन्न मिल्दैन । अन्यथा, हामीमा समयले लेराउने सुझबुझसँगै बाटो फेरि एकै ठाउँमा मिसिएछ भने सँगै यात्रा गरूँला । तपाईंहरूलाई नयाँ यात्राका लागि धेरै धेरै शुभकामना । सबैको जय होस, नेपालको जय होस् !
(रवीन्द्र मिश्रको फेसबुक पेजबाट साभार)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७