रविन्द्र मिश्रले भने, ‘फुटले अवरोध आयो तर, यात्रा रोकिंदैन’


२८ पुष २०७५, शनिबार
ra

काठमाडौँ, २८ पुस । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले आफ्नो अभियानमा अवरोध आए पनि यात्रा नरोकिने बताएका छन् ।

ra

पार्टी फुटले बैकल्पिक शक्ति निर्माणमा अप्रत्याशित अवरोध आएको बताउँदै उनले देशभर आफ्नो अभियानको पक्षका शुभचिन्तकहरु रहेको बताएका छन् ।
पार्टीका संयोजकमध्येका एक उज्वल थापासहित १६ जनाले विवेकशील नेपाली दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

पार्टी फुटपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले पार्टीमा विमती भए पनि अनायास थापाले छोडेर जान्छन् भन्ने आफूलाई कहिल्यै नलागेको जानकारी गराए । उनले राजनीति गर्ने मान्छे कहिले रोकिन नहुने बताउँदै भने, ‘यो यात्रा कुनै हालतमा रोकिँदैन । साथ दिने साथीहरु देशभर हुनुहुन्छ ।’

०४६ सालपछि बैकल्पिक पार्टी निर्माणका लागि राम्रा मान्छेले धेरै प्रयास गरेको स्मरण गर्दै मिश्रले भने, ‘तर एक वा अर्को कारणले कि विखण्डित भए, कि अन्त्य भए कि अन्त्यन्त सानो स्तरमा रहे, जसले देश रुपान्तरणको काम गर्न सक्दैन ।’

‘हामी यो तीन वटै चुनौतीबाट माथि उठ्छौं भन्ने थियो । माथि उठ्ने क्रममा यो पटक जस्तो जटिलता आयो, मलाई त अझै के लाग्छ भने एउटा विन्दु आउँछ, जहाँ हामी फेरि मिल्छौं । त्यो विन्दुबाट अझ सशक्त भएर अगाडि बढ्छौं ।’

छोडेर जाने साथीहरुले लगाएको आरोपहरुले असाध्यै दुःख लागेको विवेकशील साझा संयोजक मिश्रले बताएका छन् । उनले अघि भने, ‘त्यसैगरी मैले पनि आरोप लगाएँ भने धेरै आरोपहरु लगाइनसक्छ । तर त्यस्तो हिलो छ्यापाछ्याप गर्ने पक्षमा छैन । तपाईहरुले बेस्कन उक्साउनु भयो भने पनि म त्यो काम गर्दिन ।’

चुनावपछि एक वर्षको अवधिमा पार्टी सञ्चालनका लागि केन्द्रीय समितिले बनाएको विधि प्रक्रियाबारे पार्टी सदस्यहरुलाई जानकारी दिन नसक्नु कमजोरी भएको उनले स्वीकार गरे । यसले गर्दा धेरैलाई विधि प्रक्रिया मिच्यो भन्ने परेको भन्दै उनले भने, ‘कुनै पनि निर्णय गर्दा विधि र प्रक्रिया मिचिएको छैन ।’

बरु पार्टीका अर्का संयोजक उज्वल थापाले विधि प्रक्रिया मिचेर समिक्षा प्रतिवेदन लेखेको उनले बताएका छन् । यसका बाबजुद ३० गते शुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा बनाएको अवस्थामा पार्टी छाडेर जानु दुःखद भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७