सडकबाट एक हजार सात सय बढीको उद्धार


२८ पुष २०७५, शनिबार
sadak manab

काठमाडौँ, २८ पुस । सहयोगापेक्षी मानिस सडकमा देख्दा कसैमा पनि सकारात्मक भावना जागृत हुँदैनथ्यो । सबैले छिःछी र दुरदुर गर्थे । कतिले कुटेर लखेट्थे भने कतिले झर्केर हप्काउँथे । फोहरमा भएका खानेकुरा खोजेर खाने, जथाभावी हिँड्ने, थोत्रा कपडाको साथमा बोरा ओछ्याएर सडकको पेटीमा सुत्ने उनीहरुको दैनिकी बन्थ्यो ।

sadak manab

यस्तो अवस्था देखेपछि विसं २०६९ बाट उद्धार गरी पालनपोषणको काम थाल्दा गाउँमा मुठिदान सङ्कलनका क्रममा दुव्र्यवहारको शिकार भएको अनुभव उद्धारका अभियन्ता रुपा केसीसँग छ ।
सडकमा कष्टकर जीवन व्यतित गर्ने सहयोगापेक्षीको उद्धारसँगै पालनपोषण र संरक्षण गरी उनीहरुको परिवार पत्ता लगाएर पुनःस्थापनमा सक्रिय मानवसेवा आश्रमले अहिलेसम्म नेपालका विभिन्न क्षेत्रबाट एक हजार ७३० जनालाई उद्धार गरेको छ ।

छ वर्षको अन्तरालमा उनीहरुमध्ये मनोविमर्श सेवासहित स्वास्थ्य उपचार गराएर ५५७ जनालाई परिवारमा पुनःमिलन गराएको आश्रमका काठमाडौँ संयोजक सुमन वर्तौलाले बताए । उनका अनुसार अहिले आश्रममा ६५० जना रहेका छन् । रोगले ग्रस्त भएर अन्तिम अवस्थामा उद्धार गरिएकाले १९८ जना अशक्त र वद्धवृद्धाको निधन भएको जनाइएको छ । स्वेच्छाले ३२५ जनाले आश्रम छाडेको वर्तौलाले बताए ।

विसं २०८२ सम्ममा खुला आकाशमुनि रात बिताउन विवस सहयोगापेक्षी मानवरहित राष्ट्र निर्माणको अभियानमा लागेको आश्रमले पछिल्ला समयमा स्थानीय तह, प्रहरी र विभिन्न सङ्घसंस्थाको साथ पाएकाले लक्ष्य प्राप्त हुने आशा पलाएको प्रमुख संरक्षक डा गोविन्द टण्डनले बताए ।

उनले सडकमा यस्ता असहाय करीब सात हजार रहेको अनुमान गर्दै उनीहरुको व्यवस्थापनमा लाग्न सबैलाई अपिल गर्नुभयो । यसका लागि स्थानीय तहले सिफारिश मात्रै नगरी अभिभावकत्व ग्रहण गर्नुपर्ने देखिन्छ ।

विसं २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट सकडमा बेवारिसे अवस्थामा रहेका मनोरोगीलाई उद्धार गर्ने अभियान शुरुवात गरिएको थियो । आश्रमले अहिलेसम्म देशका छ प्रदेशका १२ जिल्लामा १४ वटा शाखा खोलेर सहयोगापेक्षीलाई उद्धार गरी संरक्षण दिंँदै आएको छ । काठमाडौँमा भने विसं २०७२ देखि सेवा शुरु गरिएको थियो ।

काठमाडौँमा सेवा थालेपछि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य प्रभावित भएर उद्धारमा महानगरको सहयोग र सहकार्य हुँदै आएको छ । ‘राज्यले गर्नुपर्ने दायित्व मानवसेवा आश्रमले गरिहेको छ, यो सेवालाई पैसामा तुलना गर्न सकिँदैन’, प्रमुख शाक्यले भने, ‘त्यसैले हामीले सम्झौता गरेर सहकार्य गर्न थालेका हौँ ।’ अहिले महानगरले उनीहरुको व्यवस्थापनका लागि लाग्ने घरभाडा खर्च बेहोर्दै आएको छ ।

जाडो लागेपछि नेपाल प्रहरीसमेत संलग्न भएर खुला आकाशमुनि सडकमा बस्नेको उद्धारमा सक्रियता देखाएकाले कार्यक्रम प्रभावकारी हुँदै आएको प्रमुख शाक्यले बताए । आश्रमको घर निर्माणका लागिसमेत आवश्यक सहयोग गर्ने उनले आश्वासन दिएका छन् ।

उनले सडकमा एकथरी असहाय रहेको र एकथरी आफन्तले ल्याएर छाड्ने अनि पैसा कमाएर फेरी बेलुका लैजाने अवस्था रहेको भन्दै यसको व्यवस्थापन जरुरी रहेको औँल्याए ।

काठमाडौँबाट ३१६ जनाको उद्धार
आश्रमको काठमाडौँ शाखाले मात्रै ३१६ जनाको उद्धार गरेको उल्लेख गर्दै संयोजक वर्तौलाले बाँधेर राखिएकादेखि शताब्दी कटेका वृद्धवृद्धा, हातगोडा कुहिएर किरा परेका, अशक्त, असहाय, मनोरोगी तथा गर्भवतीलाई समेत सडकबाट उद्धार गरिएको बताए । यस वर्षको जाडोमा मात्रै २७८ जनालाई सडकबाट उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको जनाइएको छ ।

आश्रमले हरेक हप्ता शनिबार र मङ्गलबार सडकमै पुगेर उद्धार अभियान चलाउँदै आएको छ । पशुपति क्षेत्र विकास कोषले शुरु गरेको अभियान र प्रहरी परिसर काठमाडौँले शुरु गरेको सडक व्यवस्थापन अभियानमा समेत हातेमालो गरेर अघि बढिरहेको जनाइएको छ ।

प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मानवसेवा आश्रमले अभियानमा ठूलो सहयोग गरेको बताउनुभयो । अभियानकै कारण अहिले पशुपति क्षेत्रमा सहयोगापेक्षी न्यून बन्दै गएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।

स्वदेश र विदेशमा बस्ने नेपालीले स्वःतफूर्तरुपमा दिएको रकम र जन्मदिन, विवाह वर्षगाँठ तथा पितृकार्यमा लाग्ने खर्चबाट कटाएर दिएको रकमबाट आश्रम चलिरहेकाले साँच्चै सहयोगापेक्षी सडकमुक्त शहर बनाउनका लागि तीनै तहको सरकारले चासो दिनुपर्ने आश्रमका केन्द्रीय संयोजक रामजी अधिकारीले बताए ।

सडक मानव व्यवस्थापनमा काठमाडौँ महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, ललितपुर महानगरपालिका, गोरखा नगरपालिका, वीरगञ्ज महानगरपालिका र बुटवल उपमहानगरपालिकासँग सहकार्य भइरहेको आश्रमले जनाएको छ ।

प्रदेश नं ३ ले भने सहयोगापेक्षी सडक मानवमुक्त सहर बनाउन प्रस्ताव पारित गरिसकेको छ । मनोरोग विशेषज्ञ डा कपिलदेव उपाध्यायले यस्ता अशक्त असहायको सहयोगका लागि मनैदेखि आत्मीयता र अरुलाई सहयोग गर्ने भावना आउनुपर्ने भन्दै त्यो भावना आश्रमका स्वयंसेवकमा देखिएको बताए । उनीहरु विभिन्न कारणले सडकमा पुग्ने भएकाले माया पाए भने जीवन परिवर्तन हुने उनको भनाइ छ ।

अभियानमा साथ दिन अपिल

मानवसेवा आश्रम काठमाडौँले सहयोगापेक्षी मानवमुक्त सडक बनाउनका लागि सहकार्य गर्न सबैसँग अपिल गरेको छ ।

राजधानीमा आज पत्रकार भेटघाटको आयोजना गरी आश्रमले यस्तो अपिल गरेको हो । सडकमा माग्ने पेशा बनाएका बढी रहेको तर साँच्चै अशक्त, असहाय, मनोरोगी कम रहेको भन्दै आश्रमले यस्ता असहायको संरक्षण गर्न तयार रहेको जनाएको छ ।

नेपाल सरकारले बजेट र स्थानको व्यवस्थापन गर्ने हो भने एक वर्षभित्र खुला आकाशमुनि रात बिताउन विवस सहयोगापेक्षी मानवरहित राष्ट्र निर्माण गर्न आश्रम प्रतिबद्ध रहेको संयोजक सुमन वर्तौलाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७