उपचार खर्च तिर्न नसक्दा दुई महिनादेखि अस्पतालमै बन्धक


३० पुष २०७५, सोमबार
jenos hospital

परासी, ३० पुस । अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महिनादेखि अस्पतालमै बन्धक हुन भएका छन् ।

jenos hospital

नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक भएका हुन् । गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उनलाई उक्त अस्पताल भर्ना गरिएको थियो ।

उपचारको खर्च करीब नौ लाख लागेकोमा बिरामी पक्षले अहिलेसम्म चार लाख तिरेको उनकी श्रीमती ज्ञान बेलदारले जानकारी दिइन् । बाँकी पाँच लाख अस्पताललाई तिर्न नसकेपछि पछिल्लो दुई महिनादेखि बेलदार अस्पतालमा नै बन्दी बनेको बेलदारकी श्रीमती ज्ञानले गुनासो गरिन् । ठेकेदार थगवा चौधरीको ट्रयाक्टरले खेत जोत्दै गर्दा बेलदार ट्रयाक्टरबाट खसेर ट्रयाक्टरको हलोमुनि परी गम्भीर घाइते भएका थिए ।

अहिलेसम्मको केही पैसा ट्रयाक्टर धनी चौधरीले तिरिदिएको भए पनि बाँकी पैसा तिर्न नसकेपछि बिरामीलाई अस्पतालले घर जान दिएको छैन । केही पैसा गाउँमा चन्दा उठाएर दिने र केही पैसा अस्पतालले छुट गरिदिन माग गर्दा समेत अस्पतालले अस्वीकार गरेको सुनवलकी समाजसेवी विमला अर्यालले जानकारी दिइन् ।

ज्यालादारी गरेर परिवार चलाउँदै आएका मजदुर बेलदारको परिवारमा स–साना तीन बच्चासहित पाँच जनाको परिवार छ । परिवारको मुख्य व्यक्ति नै अस्पतालमा बन्धक भएपछि बेलदार परिवारलाई अहिले दैनिक छाक टार्न समस्या भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७