कांग्रेसभित्रको ‘टीके’ प्रथा अन्त्य हुन्छ : उपसभापति निधि


३० पुष २०७५, सोमबार
bimalendra nidhi 2

काठमाडौं, ३० पुस । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको दावी गरेका छन् ।

bimalendra nidhi 2

नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको आज यहाँ उद्घाटन गर्दै उनले भने, ‘ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको छ ।’ उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ट र समावेशी विधान बनाउन सफल भएको उल्लेख गर्दै ‘अब काङ्ग्रेसभित्रको ‘टीके प्रथा’ अन्त्य हुने बताए ।

वर्तमान सरकारले सङ्घीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उनले सङ्घीय प्रणाली नेपाली काङ्ग्रेसको एजेण्डा भएको बताए । नेता निधिले मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, अपराधलाई नियन्त्रण गर्न सरकार उदासीन रहेको उल्लेख गर्दै लोकतन्त्र दरिलो भए मात्रै प्रेस जगत् स्वतन्त्र हुने बताए ।

समृद्ध मुलुक निर्माणमा प्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उनले लोकतन्त्रको पर्यायवाची प्रेस जगत् भएको धारणा व्यक्त गरे । नेता निधिले प्रेस स्वतन्त्रता खोस्ने काम कहिंकतैबाट हुनुहुँदैन भन्दै प्रेसमाथि सुनियोजित ढङ्गबाट आक्रमण भइरहेकोमा दुःख व्यक्त गरे ।

नेपाल प्रेस युनियनका जिल्ला सभापति भूपेन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, कर्णाली प्रदेशसभा सदस्य हिमबहादुर शाही, काङ्ग्रेस दैलेखका सभापति कृष्णकुमार विसी, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष चक्र केसी, नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष सीता राना लगायतले मुलुकको विकास र समृद्धिका लागि प्रेसको भूमिकाका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७