नेपाल दूरसञ्चार कम्पनी प्रतिशेयर ५५ रुपैयाँ लाभांस दिने


३० पुष २०७५, सोमबार
1547481360ntc

काठमाडौं, पुस ३० । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई प्रतिशेयर ५५ रुपैयाँ लाभांस दिने भएको छ। आज सम्पन्न कम्पनीको ११ औं वार्षिक साधारणले आर्थिक वर्ष २०७४।७५ को मुनाफा रकम मध्येबाट प्रति शेयर ५५ रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको एघारौं वार्षिक प्रतिवेदन पेश गरेका थिए।
उनले विगत वर्षहरूमा जस्तै आर्थिक वर्ष २०७४-७५ मा पनि कम्पनीले नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा वृद्धि गर्न सफल भएको बताउदै २०७५ असार सम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको जानकारी दिए।

बढ्दो विश्वव्यापीकरणसँगै दूरसञ्चार क्षेत्रमा भइरहेको प्रतिस्पर्धाको कारणले निर्णय प्रक्रिया, कार्यशैली, संस्थागत संरचनामा सुधार गरी कम्पनीलाई परिवर्तनमुखी, व्यावसायिक तथा गतिशील संगठनको रुपमा विकास गर्न आवश्यक रहेको बताउदै उनले रणनीतिक साझेदारको नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यहरूमा परामर्श तथा सहजीकरणको लागि परामर्शदातासँग सम्झौता गरी कम्पनीको सम्पत्ति तथा दायित्वको अडिट गर्ने काम सकिएको बताए।

एघारौँ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम २०७५ माघ १ गते देखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७