हिमालयन बैंकको लाभांश पारित, ६ शाखा थपिने


३० पुष २०७५, सोमबार
1547468221hbl

काठमाडौं, पुस ३० । हिमालयन बैंकको साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०।७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड पुगेको जानकारी अध्यक्ष मनोज बहादुर श्रेष्ठले जानकारी दिए।

सभामा संचालक समितिको तर्फबाट श्रेष्ठले गत आवको प्रतिवेदन प्रस्तुत गरे। सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको र माघ ५ गते सफलतापूर्वक २६ वर्ष पुरा हुने जानकारी दिए।

श्रेष्ठले २६ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तीय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे। नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पुर्याउने प्रतिबद्धता जनाए।

गत आवको अन्त्यसम्म ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह भएको बैंकले जनाएको छ। जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७।३९ र ११।८६ प्रतिशतले बढी हो।

उक्त सभामा सर्ब साधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद १ मा विजय बहादुर श्रेष्ठ निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिए। यो वर्ष ६ स्थानमा नयाँ शाखाहरुको स्थापना गरिने तथा विभिन्न स्थानमा एटिएम थपिने बैंकले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७