समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेल्ने


१ माघ २०७५, मंगलवार
mahila

काठमाडौं, १ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डको ‘ए’ टोलीसँग प्रतिष्पर्धा गर्ने भएको छ ।

mahila

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा बुधबार हुने समूह चरणको अन्तिम खेलमा दुवै टोली जित निकाल्ने उद्देश्यसाथ मैदानमा उत्रदै छन् । अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपालले थाइल्याण्डलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।

थाइल्याण्ड भने प्रतियोगितामा सान्त्वना जितको खोजीमा हुनेछ । यसअघि दुई खेल खेलेको थाइल्याण्ड दुई खेलमा पराजय भोग्दै अङ्कविहीन छ भने प्रतियोगताबाट समेत बाहिरिसकेको छ ।
प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) यसअघि नै प्रवेश गरिसकेका छन् । नेपाल र थाइल्याण्डबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।

जारी प्रतियोगितामा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हात पार्दै ६ अङ्क जोडेको छ । युएइले चार खेलबाट ६ अङ्क जोडेको छ । अङ्क तालीकामा युएइ शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । यदि थाइल्याण्डलाई पराजित गरेमा नेपाल समूहको विजेता बन्नेछ ।

शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । आइतबार भएको दोस्रो खेलमा मलेशियालाई छ विकेटले पराजित गरेको थियो । सोमबार भएको तेस्रो खेलमा नेपालले युएइलाई ६ विकेटले हराएको थियो ।

रुविना क्षेत्रीको कप्तानीको नेपाली टोलीमा सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।

विभिन्न १० टोलीको सहभगिता रहेको उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेशिया र थाइल्याण्डको ए टोली छन् । समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यानमार छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७