वैदेशिक रोजगारमा जानेको बीमा अब बीमकको पुल मार्फत


१ माघ २०७५, मंगलवार
1546768436lifeinsurance

काठमाडौँ, माघ १ । वैदेशिक रोजगारीमा जाने कामदारको बीमालाई बढी व्यवस्थित, प्रभावकारी तथा वैज्ञानिक बनाउने लक्ष्यका साथ बीमा समितिले म्यादी बीमा व्यवसाय बीमकको पुलमार्फत सञ्चालन गर्ने भएको छ ।

समितिले सबै बीमा कम्पनीलाई परिपत्र गरी वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय बीमकको पुल मार्फत सञ्चालन गर्न निर्देशन दिएको हो । सो योजना आजदेखि लागू भएको छ।

विधिवतरूपमा पुल गठन नभएको अवस्थामा आजदेखि भने बीमकले जारी गरेका सबै बीमालेखमा बीमकको बजार हिस्साबमोजिम सञ्चालन गर्न र पुल गठन नभएसम्म व्यवसाय सञ्चालनलाई विद्यमान व्यवस्थाअनुसार नै गर्न निर्देशन दिइएको छ।

हाल तय भएको बीमाको हिस्साको अनुपात चालु आर्थिक वर्षको असार मसान्तसम्म लागू गर्ने र २०७६ साउन १ देखि समितिको रोहवरमा हिस्सा परिवर्तन गर्ने उल्लेख गरिएको छ। चौथो वर्षको सुरुदेखि भने सबै बीमा कम्पनीको हिस्सा समान बनाइनेछ।

यस्तै यही माघ १५ गतेसम्म सबै जीवन बीमा कम्पनीले सहमति गरी पुल सञ्चालनको कार्यविधि बनाई समितिमा पेश गर्न आग्रह गरिएको समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

समितिले नेशनल नेपाल लाइफ इन्सुरेन्सलाई १९, नेपाल लाइफ इन्सुरेन्सलाई ११, सूर्य लाइफलाई १२, गुराँस लाइफलाई दुई, प्राइम लाइफलाई १५, आइएमई लाइफलाई पाँच, यूनियन लाइफलाई ११, रिलायन्स लाइफ एक, रिलायवल नेपाल लाइफ र यस्तै सिटिजन लाइफलाई समान आठ प्रतिशत बराबरको हिस्सा दिएको छ।

यस्तै सानिमा लाइफ, सन नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान, मेट लाइफ एलिको, एशियन लाइफ, ज्योति लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्सुरेन्सलाई समान एक÷एक प्रतिशतको दरमा बजार हिस्सा निर्धारण गरिएको छ।

समितिले यस अघि गत मङ्सिर २६ गते पनि एक निर्देशनमार्फत मुलुकभरका विभिन्न वैदेशिक रोजगारको कार्यालयको वरिपरि एउटा बीमकको एउटा मात्र कार्यालयमार्फत बीमालेख जारी गर्न आग्रह गरेको थियो।

समितिले बीमालेख जारी गर्दा कम्प्युटरबाट एउटै बीमालेख तथा रसिद, निष्काशन गरी आधिकारीक व्यक्तिको हस्ताक्षर सहितको बीमालेख जारी गर्न र बीमालेखमा बीमकबाट अधिकार प्राप्त व्यक्तिले सही गर्ने स्थानमा बाहेक अन्यत्र कुनै पनि विवरण भर्न, थप्न नपाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७