फारम भरेका कर्मचारीलाई समायोजन पत्र थमाउँदै मन्त्रालय, ७६ हजारले भरे फारम


२ माघ २०७५, बुधबार
karmachari sarkari psc 768x390 1

काठमाडौं, २ माघ । कर्मचारी समायोजन प्रक्रियामा उत्साहजनक सहभागिता रहेको दाबी सरकारी अधिकारीहरुले गरेका छन् ।

karmachari sarkari psc

बुधबार मध्यरातिसम्म समायोजनका लागि फारम भर्ने समयावधि रहेको छ । बुधबार मध्याह्नसम्म ७६ हजार बढी कर्मचारीले समायोजनका लागि अनलाइन फारम भरिसकेका छन् ।
कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका सहसचिव केदारप्रसाद पनेरुकाअनुसार फारम भर्ने समयावधि सकिएपछि पहिलो चरणमा सचिव र सहसचिवहरुलाई समायोजनको पत्र दिइने छ ।

अब बढीमा दुई हप्ताभित्र फारम भरेका सबै कर्मचारीहरुलाई पत्र बुुझाउने तयारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छ । केन्द्रदेखि स्थानीय तहसम्म ८९ हजार दरबन्दी कायम गरिएको छ ।

तर, अवकाश हुन एक वर्ष बाँकी रहेका पाँच हजार र अदालतमा मुद्दा हालेका प्राविधिकतर्फका केही कर्मचारीहरु भने समायोजन प्रक्रियामा छुट्ने भएकाले करिब ८५ हजार आसपास कर्मचारीहरुको समायोजन हुने देखिएको छ ।

समायोजन फारम भर्नेहरुमध्ये अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीहरुको रुचि संघमा बस्ने र नायब सुब्बा र खरिदारहरुको आकर्षण प्रदेश तथा स्थानीय तह रहेको बुझिएको छ । सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउने उद्देश्यले समायोजन अध्यादेश ल्याएको थियो ।

जसअनुसार संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जना कर्मचारी पठाइने छ । अध्यादेशले समायोजन हुने कर्मचारीलाई ‘ग्रेड’ तथा योग्यता पुगेकाहरुलाई एक तह बढुवाको सुविधा प्रदान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७