देउवाको दशा : नेविसंघको म्याद थपेको विरोधमा देउवा निवासमै धर्ना


३ माघ २०७५, बिहीबार
dharna

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) स्वतः विघटनको अवस्थामा पुगेपछि म्याद थप्दा पार्टी सभापति शेरबहादुर देउवा समस्यामा परेका छन् ।

dharna

नेविसंघको म्याद थपिएको विरोधमा नेविसंघकै नेता–कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा धर्ना दिएका छन् । मोटरसाइकल ¥यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेर दर्जनौं नेता–कार्यकर्ताहरुले धर्ना दिएका हुन् ।

नेविसंघको झण्डा बोकेका उनीहरुले ‘नेबिसंघ जिन्दावाद’ को नारा लगाएका थिए । माइक्रो बस समेत रिजर्भ गरेर बुढानिलकण्ठ पुगेका उनीहरुले देउवा निवास अगाडि धर्ना दिएका छन् । दर्जनौं संख्यामा नेविसंघ कार्यकर्ताहरु भेला भएपछि देउवा निवास वसरपर सुरक्षा तैनाथी बढाइएको छ ।

विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो, तर कांग्रेसले तत्काललाई हालकै कार्य समितिलाई निरन्तरता दिएको छ । पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै नेविसंघका केही नेता–कार्यकर्ताहरु विरोधमा छन् ।

नेविसंघका उपाध्यक्षत्रय सञ्जयकुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले गत पुस २७ गते पदबाट राजनीनामा समेत दिइसकेका छन् ।

यसअघि पटक–पटक म्याद थप भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविसंघको अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७