मलेसिया रोजगारी अविलम्ब खुल्ला गर्न नेकपा निकट ब्यवसायीको माग


३ माघ २०७५, बिहीबार
chitraguta sawa 1

काठमाडौं, माघ । प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मंच नेपाल र बैदेशिक रोजगार गणतान्त्रिक मंचले बैदेशिक मलेसियामा कामदार पठाउने सम्झौता गरी त्यसलाई पालना नगरेकोमा चिन्ता ब्यक्त गरेको छ ।

chitraguta sawa 1
चित्रगुप्त सावाँ

नेकपा निकट दुवै संगठनले मंगलबार जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ–‘देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको बैदेशिक रोजगार क्षेत्र झन् संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ ।

मध्यपूर्वमा देखिएका विविध समस्याहरुका कारण त्यहाँबाट नेपाली श्रमिकहरुको मागमा भारी गिरावट आइरहेको अवस्था छ । श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालयको २०७५ जेठ २ गतेको निर्णयअनुसार नेपाली श्रमिकका लागि मलेसियाको रोजगार बन्द गरिएको छ । यसैगरी यूरोपियन मुलुकहरुमा नेपाली श्रमिकहरु रोजगारीका निम्ति जाने प्रक्रियामा समेत मन्त्रालयद्वारा विभिन्न ब्यवधानहरु खडा गरिएको कारण बन्द सरह नै रहेको छ ।

यस आर्थिक बर्ष ६ महिनाको तथ्यांक हेर्दा बैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको संख्या करिब ४५.५ प्रतिशतले घटेको अवस्था छ । मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको विप्रेषण(रेमिट्यान्स) अमेरिकी डलरबृद्धि र बैधानिक तबरले रकम नेपाल पठाउने जनचेतना बृद्धि भएको कारण बढेको देखिएको हो ।

विगतमा अवैध रुपमा हुन्डीबाट पैसा आउने गरेको थियो । तर पछिल्लो समय प्रहरी सक्रियता र जनचेतना बृद्धिका कारण बैंकिङ च्यानलबाटै पैसा आउन थालेको छ । त्यसकारण रेमिट्यान्स नघटेको देखिए पनि कालान्तरमा देशको अर्थतन्त्रमा नकारात्मक प्रभाब पर्ने देखिन्छ ।

समृद्ध नेपाल निर्माणका लागि बिदेशी मुद्रा आर्जनमा कमी हुँदै जानु पक्कै पनि सुखद् अवस्था होइन, विज्ञप्तिमा उल्लेख छ– मलेसिया रोजगारी बन्द भए पश्चात भिसा प्रक्रिया पूरा गरेर उडानको प्रतिक्षामा रहेका हजारौं नेपाली बेरोजगार युवाले भोग्नुपरेको पीडाप्रति श्रम रोजगार तथा सुरक्षा मन्त्रालय गम्भीर हुनुपर्दछ ।

मलेसिया र नेपाल सरकारबीच भएको एमओयु पश्चात जुन गति मलेसिया रोजगारीले लिनुपर्ने थियो त्यो नभई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सुझबुझपूर्ण निर्णय नहुँदा दुई देशबीच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएर पनि मलेसिया रोजगारी टुङ्गोमा पुग्न सकेको छैन । समझदारी पत्रमा हस्ताक्षर भएको झण्डै ३ महिना हुँदा समेत रोजगारी सुचारु गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय असफल हुनु अत्यन्त बिडम्वनाको बिषय हो । मलेसिया रोजगारीका सन्दर्भमा मन्त्रालय आफै अनावश्यक जटिलताहरु सृजना गरिरहेको हामीले महसुस गरेका छौं ।

वैदेशिक रोजगार लाई ब्यबस्थित गर्ने नाममा मन्त्रालयले कामदार पठाउने अन्य प्रतिस्पर्धी मुलुकहरूको नीतिनियम अध्ययन नै नगरी बिभिन्न नियम लागु गराउन क्रियाशील रहेको छ भने अर्कोतर्फ आम ब्यवसायीहरुलाई असान्दर्भिक धरौटी बृद्धिको प्रस्तावले बैदेशिक रोजगार क्षेत्रमा दलाल पूँजीपतिहरुको एकाधिकार कायम हुनेछ र अघोषित सिण्डिकेट खडा गरी नेपाली युवाहरुको झन चरम शोषण हुनेछ ।

बैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याहरुको दीर्घकालीन रुपमै निकास र समाधान खोजिनुपर्छ । कुनै पनि टालटुल र प्रचारवाजीले मात्र सही निकास निस्कन सक्दैन । यी समस्याहरुको सन्दर्भमा नेकपा पार्टीसग आवद्ध ‘प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मंच नेपाल’ तथा ‘बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मंच’ ले विगतदेखि नै समस्या समाधानको निम्ति पहल र ध्यानाकर्षण गराएको स्मरण गर्दै हाल सृजना भएको जटिलताहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी पनि गराएको छ ।

बैदेशिक रोदगार क्षेत्रका बिषयहरु सबै पक्षको साझा छलफल र सहभागीतामा यथासक्य चाडो समाधान गरी यस क्षेत्रलाई संकटग्रस्त अवस्थाबाट जोगाउन र दुई देशबीच सम्झौता भएर समेत अझै बन्द रहेको मलेसिया रोजगारी अविलम्ब खुल्ला गर्न माग गरिएको छ ।

साथै धरौटी बृद्धि फिर्ता लिन माग पनि गरिएको छ । धरौटी बृद्धिले मात्र बैदेशिक रोजगार क्षेत्र ब्यवस्थित हुन सक्दैन, तसर्थ श्रम रोजगार तथा सामाजिक मन्त्रालयद्वारा प्रस्तावित धरौटी फिर्ता लिन हामी नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष माग गर्दछौ, विज्ञप्तिमा जनाइएको छ । साझा छलफलबाट निकास खोज्न सम्बन्धित सबै पक्ष तयार हुनुपर्छ र यसका लागि मंत्रालय अभिभावकको रुपमा रहन सक्नुपर्छ ।

ब्यवसायीको संयमतालाई कमजोरीको रुपमा नलिन आग्रह पनि गरिएको छ । उपरोक्त बिषयहरुको समयमा नै समाधान नखोजेमा कठोर कदम चाल्न बाध्य हुने ब्यहोरा समेत यसै विज्ञप्ती मार्फत अवगत गराउन चाहन्छौं । प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मंचका अध्यक्ष चित्रगुप्त साँवा र गणतान्त्रिक मंचका भुवनविक्रम घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७