इँटा उद्योग बन्द गर्न बन्यो वातावरण ऐन


४ माघ २०७५, शुक्रबार
itta udyog

काभ्रेपलाञ्चोक, ४ माघ । मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न पाँचखाल नगरपालिकाले वातावरण ऐन निर्माण गरेको छ ।

itta udyog
प्रतिनिधिमुलक तस्विर

नपाले निर्माण गरेको उक्त ऐन यसै साता नगरपरिषद्ले पास गरेको छ । स्थानीय तहले मापदण्ड विपरीतका इँटा उद्योग बन्द गर्ने पूर्ण अधिकार नभएकाले वातावरण ऐन निर्माण गरी मानव तथा कृषि उपजमा प्रतिकूल असर पार्ने उद्योग बन्द गर्न लागिएको नगर प्रमुख महेश खरेलले बताए । उनले भने, ‘मापदण्ड विपरीतका इँटा उद्योग बन्द गर्न वातावरण ऐन बनाइयो, अब एक हप्तामै नियमावली बनाएर बन्द गर्नेतर लाग्छौँ ।’

पाँचखाल नपाको वडा नं ७, ८, ९ र १२ मा सात इँटा उद्योग सञ्चालित छन् । पाँचखालका इँटा उद्योगको वातावरण प्रभाव मूल्याङ्कन (आईइइ) अध्ययन गर्दा सबै इँटा उद्योग स्वीकृतअनुसार ९८ प्रतिशतसम्म मापदण्ड विपरीत सञ्चालनमा रहेको नगर प्रमुख खरेलले जानकारी दिए ।

उनले भने, ‘मापदण्डविपरीत सञ्चालित इँटा उद्योग बन्द गर्ने विषयमा केन्द्र र प्रदेश सरकारको निर्णय कुर्‍यौँ, तर अहिलेसम्म नआउँदा हामीले ऐन बनाएर बन्द गर्ने निर्णयमा पुग्यौँ ।’

नपाले तयार पारेको वातावरण ऐनमा ‘नागरिककको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न, वातावरणीय जोखिम न्यूनीकरण गर्न तथा प्राकृतिक स्रोतको समुचित उपयोग र व्यवस्थापनबाट वातावरण संरक्षण गर्न कानूनी व्यवस्था वान्छनीय भएकाले नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम नगरसभाले यो ऐन बनाएको छ’ भनिएको छ । ऐनको नाम ‘पाँचखाल नगरपालिकाको वातावरण संरक्षण ऐन–२०७५’ राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७