‘उज्यालो नेपाल’ का लागि योगदान पुर्‍याएका कुलमान घिसिङ्ग सम्मानित


४ माघ २०७५, शुक्रबार

काठमाडौं, ४ माघ । विद्युत प्राधिकरणको वेथिति हटाउँदै देशलाई लोडसेडिङ्ग मुक्त बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग सम्मानित भएका छन् ।

निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इप्यानले कार्यकारी निर्देशकको पदमा रहेर देशलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्‍याएको योगदानको कदर गर्दै घिसिङलाई सम्मान गरिएको हो ।

काठमाण्डौको भृकुटीमण्डपमा शुक्रबारबाट शुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१९ मा घिसिङलाई सम्मान–पत्र प्रदान गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान गरेका छन् ।

२०७३ को भदौमा ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले ब्यहोरीरहेको कहालीलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए । कार्यकारी निर्देशकमा नियुक्त हुँदा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणलाई वित्तीय र प्रशासनिक सुधार तथा पुनर्संरचनामार्फत खुद नाफामा लैजान घिसिङ सफल भएका छन् ।

घिसिङले विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल गरेका छन् । प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नती तथा सुदृढीकरणलगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको चर्चा गर्दै यसलाई पूरा गर्न नै प्राधिकरणले ‘टेक अर पे’ मा विद्युत खरिदको नीति लिएको बताएका छन् ।

भृकुटीमण्डपको प्रदर्शनीस्थलमा ८५ भन्दाबढी प्रदर्शकहरुले सयभन्दा बढी स्टल राखेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७