चीनको सपना ‘चकनाचुर’, चन्द्रमा उमारेको विरुवा मर्‍यो


४ माघ २०७५, शुक्रबार
china

काठमाडौं, ४ माघ । चीनले पहिलो पटक चन्द्रमामा उमारेको बिरूवा मरेको छ । विरुवा मरेसँगै चीनको चन्द्रमामा जीवन खोज्ने पहिलो सपना सपना चकनाचुर भएको छ ।

china

समाचार संस्था सिन्ह्वाका अनुसार गत जनवरी ३ मा चन्द्रमाको छेउमा अवतरण भएको अन्तरिक्ष यान चांगअ–४ ले लिएको कपासको बीउ चन्द्रमामा टुसाएको थियो । तर बिहीबार नै उक्त बिरूवा मरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गत मंगलबार चाइना नेशनल स्पेश एडमिनिस्ट्रेसनले नियन्त्रित वातावरणभित्र एउटा शिशाको भाँडाभित्र बिरूवा टुसाएको तस्बिर सार्वजनिक गरेको थियो । चिनियाँ अन्तरिक्ष यानले कपास र आलुको बीउसहित माटो, मर्चा र एक प्रकारको झिंगाको अण्डा लिएर गएको थियो ।

यो परीक्षणका प्रमुख प्राध्यापक लिउ हाङलोङले अन्तरिक्षमा लामो समय बाँच्न सम्भव छ कि छैन भन्ने थाहा पाउन बिउलाई चन्द्रमामा लगेर उमारेको बताएका थिए । ‘हामीले भविष्यमा अन्तरिक्षमा बाँच्न सकिन्छ कि सकिन्न भनेर यो प्रयोग गरेका हौं । कम गुरूत्वाकर्षणमा यो बिरूवा टुसाएको छ यसको हुर्काइले हामीलाई भविष्यका लागि स्पेश बेस बनाउने बाटो खोल्नेछ,’ प्राध्यापक लिउले भने ।

उनले बिरूवा टुसाएको भाँडो सानो भए पनि यसभित्र २५ डिग्री सेल्सियस तापक्रम कायम राख्ने प्रणाली जोडिएको बताए । टुसाएको बिरुवाले भाँडाभित्र एक सूक्ष्म जैविक मण्डल सिर्जना गर्ने र त्यस्तो कृत्रिम वातावरणमा आफैं हुर्कने अनुमान थियो । तर उपयुक्त वातावरण नभएपछि बिरूवा मरेको छ ।

त्यो बिरूवा चन्द्रमाको सतहमा परेको सूर्यको प्रकाशका भरमा बाँचिरहेको थियो। रात परेपछि जब तापक्रम माइनस १७० डिग्री सेल्सियसभन्दा कम भयो, तब बिरूवा बाँच्न सकेन । यो परीक्षण डिजाइन नेतृत्व गरेका चोङकिङ विश्वविद्यालयका प्राध्यापक जी जेङजिनका अनुसार बिरूवा मर्न सक्ने आकलन पहिल्यै थियो । कपासको बिउसँगै पठाइएका झिँगाको अण्डा के भयो भन्नेबारे उनीहरूले कुनै जानकारी दिएका छैनन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७