७५३ स्थानीय तहमा रोजगार संयोजकको जागिर खुल्यो, अनलाइन फारम भर्न सकिने


४ माघ २०७५, शुक्रबार
press meet of government

काठमाडौं, माघ ४ । सरकारले ७५३ स्थानीय तहमा एक एक जना रोजगार संयोजक नियुक्त गर्नका लागि आवेदन खुल्ला गरेको छ।

करारमा कर्मचारी भर्ना गरी काममा लगाउन रोजगार संयाजकको पदपूर्ति प्रक्रिया र सेवा सुविधा सम्वन्धमा व्यवस्था गर्न आवश्यक भएको जनाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ संयोजक नियुक्त गर्न लागेको हो।

रोजगार संयोजकको दरबन्दी भने अस्थायी हुनेछ। मन्त्रालयले रोजगार संयोजकलाई एक वर्षका लागि प्रदेशगत रुपमा खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्ति गरी स्थानीय तहमा खटाउने छ।

कम्तीमा स्नातक तह वा सोसरह उत्तिर्ण भएकाले आवेदन दिन सक्नेछन्। २१ वर्ष पुरा भई ४५ वर्ष नकटेका र कम्प्युटरसम्वन्धी ज्ञान भएकाले आवेदन गर्न सक्ने मन्त्रालयले जनाएको छ।

संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगारको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, बेरोजगारलाई परिचयपत्र वितरण गर्ने, स्थानीय तहमा उपलव्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्ने, संभावित रोजगारीका अवसरको विश्लेषण गरी तथ्याङ्क संकलन गर्ने जस्ता कामहरु रोजगार संयोजकले गर्नुपर्नेछ।

उसको तलब भत्ता सोही सरहको निजामति कर्मचारीले पाउने सरह हुनेछ। पन्ध्र दिनभित्रमा अनलाइनबाट आवेदन दिन सक्ने छन्। मन्त्रालयको वेबसाइटमा दरखास्त फारम प्राप्त गर्न सकिनेछ।

सरकारले प्रदेश १ मा १३७ जनाका लागि आवेदन खुलाएको छ। जसमा सुब्बा सरहका ७ जना रहेका छन्। त्यस्तै २ नं प्रदेशमा शाखा अधिकृत सरहका १३६, प्रदेश ३ मा ७ जना सुब्बा सरहका सहित ११९ जना, गण्डकी प्रदेशमा सुब्बा सरहका ११ जनासहित ८५ जना, प्रदेश ५ मा १०९ जना, कर्णालीमा सुब्बा सरहका १७ जनासहित ७९ जना र सुदूपश्चिममा सुब्बा सरहका ६ जनासहित ८८ जनाका लागि आवेदन खुल्ला गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७