डाभोसमा सहभागिता, नेपालको सफलताप्रति विश्वको चासो : प्रधानमन्त्री ओली


५ माघ २०७५, शनिबार
PM KP Sharma Oli

काठमाडौं, ५ माघ । स्विटजरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक बैठकबाट नेपालले ठूलो लाभ लिनसक्ने विश्वास गरिएको छ ।

PM KP Sharma Oli

यही माघ ८ देखि ११ गतेसम्म हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिनुहुने कार्यक्रम छ । सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालले पहिलो पटक प्रधानमन्त्री स्तरमा भाग लिन थालेका हुन् हो । यसले विश्व आर्थिक परिदृष्यमा नेपाल पनि पर्न थालेको अनुभव गरिएको छ ।

प्रधानमन्त्री ओलीले यो बैठकका दुई वटा सत्रलाई सम्बोधन गर्नेछन् । डाभोस स्विटजरल्याण्डको सूदूरपूर्वी ग्राउबुन्डेन क्यान्टनमा पर्ने एक सानो हिमाली शहर हो । ल्याण्डवासर नदीको किनारामा रहेको यो शहरको जनसंख्या झण्डै ११ हजार मात्र छ ।

बैठकमा भाग लिन आएको निमन्त्रणा र भ्रमणबाट नेपाललाई हुने उपलब्धिबारे प्रधानमन्त्री ओलीले शुक्रबार संसदमा सम्बोधन गर्दै भन्ने, ‘हामीले पाएको सफलताले नेपालप्रति विश्वको चासो बढेको छ, अब नेपाल सानो र पछौटे मुलुकका रुपमा नभई विश्व मानचित्रमा सम्झिनलायक मुलुकका रुपमा स्थापित भएको छ ।’

विश्व आर्थिक मञ्चको सो ४९ औँ बैठकमा भाग लिन प्रधानमन्त्री ओली आइतबार स्विटजरल्याण्डतर्फ प्रस्थान गर्नुहुने भएको छ । सातदिने सो भ्रमणमा मञ्चको बैठकको साइडलाइनमा विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग महत्वपूर्ण भेटघाट हुनसक्ने पनि प्रधानमन्त्रीले बताए ।

डाभोस फोरम आर्थिक विषयवस्तुमा बहस, मन्थन गर्ने महत्वपूर्ण संस्था भएकाले हाम्रा विकासका अनुभव र आकांक्षाबारे सुनाउन पनि सो मञ्च उपयुक्त हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

नेपालमा आगामी मार्चमा हुन लागेको लगानी सम्मेलनलाई सार्थक पार्न तथा लगानी भित्र्याउन पनि यो मञ्च सहायकसिद्घ हुने विश्वासको उनको छ । परराष्ट्रमन्त्री ज्ञवालीले लगानी सम्मेलनमा बृहत् सहभागिता गराउन र विश्वका प्रतिष्ठित कम्पनीलाई आकर्षित गर्न पनि मञ्च उपयोगी हुने बताए ।

बैठकमा नेपाल अब किन लगानीका लागि आकर्षक र सुरक्षित छ, कसरी यहाँ लगानी गर्दा नोक्सानी हुँदैन भन्ने र हामी कसरी दुई ठूला बजार चीन र भारतसँग जोडिएका छौँ र ती दुई बजारमा हामी पुग्न सक्छौँ भनेर विश्वलाई बुझाउन पनि बैठक अत्यन्त उपयोगी सिद्ध हुने उनको विश्वास छ ।

मन्त्रालयको युरोप, अमेरिका महाशाखाका सहसचिव घनश्याम भण्डारीले विश्वका राजनेता तथा आर्थिक सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल हुँदा नेपालले आफ्ना कुरा राख्न र अरूका अनुभवबाट पनि लाभ लिनसक्ने बताए ।

डाभोस बैठकमा विश्वका सय देशबाट राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा प्रतिनिधिले भाग लिनेछन् भने यसमा विश्वका एक हजार वटा प्रतिष्ठित कम्पनीका प्रमुखहरुले पनि भाग लिने छन् । यस बैठकमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससहित अन्तर्राट्रिय सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाज, प्राविधिक विषयका अनुसन्धानकर्ता आदि भेला भई विश्वका प्राथमिकता निर्धारण तथा विश्वका औद्योगिक तथा क्षेत्रीय मुद्दाहरुको भावी रुपरेखा तयार गरिन्छ ।

विश्व आर्थिक मञ्च सार्वजनिक तथा निजी साझेदारीका लागि एक स्वतन्त्र तथा तटस्थ अन्तर्राष्ट्रिय सङ्गठन हो । यसको उद्देश्य विश्वको आर्थिक अवस्थामा सुधार ल्याउनु हो । यसले कुनै पनि राजनीतिक, व्यावसायिक तथा व्यक्तिगत चासोलाई प्रवर्धन गर्दैन भने यो खुला र समावेशी हुनाका साथै पारदर्शितामा विश्वास राख्दछ । यो सम्मेलनलाई विश्वमा खेलकूदबाहिर सञ्चार क्षेत्रलाई सबैभन्दा ठूलो प्रभाव पार्ने परिघटनाका रुपमा पनि लिइन्छ ।

यसका संस्थापक तथा वर्तमान कार्यकारी अध्यक्ष जर्मन इञ्जिनियर क्लाउस मार्टिन स्वाब हुन् । सन् १९३८ मा जन्मनुभएका ८० वर्षीय उनले कुनै पनि उद्यम सफल हुन शेयरहोल्डर मात्र नभई सरोकारवालाको हित पनि हेर्नुपर्छ भन्ने विचार राख्छन् । यस पटकको वार्षिक बैठकमा जर्मनीका चान्सलर एन्जेला मर्केल, जापानका प्रधानमन्त्री शिन्जो आबे, स्विटजरल्याण्डका राष्ट्रपति उएली माउरर, ब्राजिलका राष्ट्रपति जाइर बोल्सारो, चीनका उपराष्ट्रपति वाङ छिसानलगायतले भाग लिने कार्यक्रम छ ।

प्रधानमन्त्रीको नेतृत्वमा बैठकमा भाग लिन जाने २० सदस्यीय टोलीमा प्रधानमन्त्री ओली, प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत छन् । बैठकमा जेनेभास्थित स्थायी प्रतिनिधि तथा स्विजरल्याण्डका लागि नेपाली राजदूत दीपक धिताल पनि नेपाली टोलीमा सहभागी हुनेछन् । यो टोली माघ १२ गते स्वदेश फकर्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७