रहस्यमै ओझेलिंदै निर्मला बलात्कार प्रकरण, डीएनए परीक्षण नै शंकाको घेरामा


५ माघ २०७५, शनिबार
nirmala 2

काठमाडौं, ५ माघ । निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण भनिएको डीएनए परीक्षणको प्रक्रिया नै त्रुटिपूर्ण भएको आशंका गरिएको छ ।

nirmala 2

राष्ट्रिय मानवअधिकार आयोगको टोलीले तयार पारेर गत आइतबार बुझाएको प्रतिवेदनले प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणको वैधतामाथि नै प्रश्न उठाएको हो । प्रतिवेदनले उक्त प्रयोगशालाबाट हाल निकालिएको नतिजाका आधारमा मात्रै अपराधी किटान सम्भव नहुने तर्कसमेत गरेको छ ।

पूर्व एआईजी विज्ञानराज शर्मा, फरेन्सिक विशेषज्ञ हरिहर वस्ती, डीएनए विज्ञ दिनेश झा, पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठक सम्मिलित टोलीले प्रतिवेदन तयार पारेको हो । विशेष स्रोतबाट कान्तिपुरलाई प्राप्त प्रतिवेदनमा निर्मलाको भेजाइनल स्वाब (योनीभित्र हुने र्‍याल जस्तो तत्व) बाट लिइएको परीक्षणमा त्रुटि हुन सक्ने निष्कर्ष निकालेको हो ।

डीएनए नमुनाबाट अटोसोमल एसटीआर (महिला र पुरुष सबैमा पाइने क्रोमोजम) र वाई एसटीआर (पुरुषमा मात्र पाइने क्रोमोजम) दुवै निकाल्नुपर्नेमा प्रयोगशालाले वाई एसटीआर मात्रै निकालेको प्रतिवेदनमा उल्लेख छ । जबकि प्रहरीको विधि विज्ञान प्रयोगशालामा अटोसोमल एसटीआर निकाल्ने उपकरण छन् । अटोसोमल एसटीआरले व्यक्ति किटान गर्छ भने वाई एसटीआरले पुरुषहरूको समूह किटान गर्छ ।

प्रतिवेदनमा भनिएको छ, ‘एउटा मिश्रित नमुनामा विशेष प्रक्रियाद्वारा शुक्रकिट अलग्याई सोको डीएनए परीक्षण उपयुक्त हुन्छ । विश्वव्यापी रूपमा यो प्रक्रिया अपनाउने गरिन्छ । यसबाट अपराधीको आवश्यक डीएनए प्रोफाइल प्राप्त हुने भए निजको पहिचान सम्भव हुन्छ । यस केसमा उक्त प्रक्रिया नअपनाएका कारण महिला र पुरुषको डीएनए मिश्रण हुन गएको छ । फलस्वरूप पुरुषको वाई एसटीआर परीक्षण मात्र सम्भव भएको छ ।’

प्रहरीको विधि विज्ञान प्रयोगशालाका प्रमुख एवं डीएनए विज्ञ एसपी राकेश सिंहको नेतृत्वमा स्वाब परीक्षण भएको थियो । यो तथ्यले भेजाइनल स्वाबको परीक्षणका क्रममा प्रहरीको विधि विज्ञान प्रयोगशालामा त्रुटि भएको संकेत गर्दछ । प्रतिवेदनले हाल प्रयोगशालाबाट निकालिएको डीएनए नतिजाका आधारमा मात्रै वास्तविक अपराधी पत्ता लाग्न नसक्ने निष्कर्ष निकालेको छ ।

किनकि डीएनएबाट निकालिएको वाई एसटीआर मात्रै अपराधी पहिचानको अकाट्य आधार हुन नसक्ने डीएनए विज्ञको बुझाइ छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक जीवन रिजालले भने, ‘अटोसोमल एसटीआर ननिकालिकन वाई एसटीआरका आधारमा मात्रै अपराधीको किटान गर्न सकिँदैन ।’ रिजालले वाई एसटीआरले पुरुषको एउटा तत्त्व मात्रै थाहा हुने र यस्तो तत्त्व सगोलका दुई–तीन पुस्ताका अन्य पुरुष सदस्यसँग पनि मिल्न सक्ने बताए । उनले भने, ‘वाई एसटीआरको मात्रै नतिजा बाँकी छ भने डीएनए परीक्षणकै आधारबाट अपराधी पहिचान गर्न धेरै नै कठिन हुन्छ ।’

नमुना सुरक्षित नराख्नु गल्ती : विज्ञ
विधि विज्ञान प्रयोगशालामाथि उठेको अर्को शंका भनेको भेजाइनल स्वाबबाट निकालिएको नमुना बाँकी नराखिनु पनि हो । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक रिजालले भेजाइनल स्वाबबाट निकालिएको नमुना जस्तोसुकै भए पनि सुरक्षित नराख्नु गल्ती भएको बताए ।

प्रहरीका अनुसार निर्मलाको योनीको बाहिरी, मध्य र भित्री भागबाट तीन फरक–फरक स्वाबको नमुना परीक्षणका निम्ति प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाले यी तीनै नमुना परीक्षणका क्रममा सकिएको बताएको छ । रिजालले भने, ‘कमजोर नै भए पनि नमुना बाँकी रहेको भए विदेशका प्रयोगशालामा पठाउन सकिन्थ्यो । अब त त्यो सम्भावना पनि अन्त्य भएको छ ।’

अबको बाटो

निर्मला पन्त प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार डीएनए नमुना बाँकी नरहनु र निकालिएको नतिजा अपूर्ण एवं शंकास्पद ठहरिएपछि अनुसन्धान झनै जटिल बनेको छ । पन्तको घटनामा अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले अनुसन्धान झनै जेलिएको र पेचिलो बनेको बताए ।

ती अधिकारीले ‘निर्मलाले फोन नबोक्ने र सामाजिक सञ्जाल पनि नचलाउने भएका कारण र डीएनए स्याम्पलको नतिजा पनि शंकास्पद भएको अवस्थामा प्राविधिक अनुसन्धानको पाटो झन् जटिल बनेको’ बताए । त्यसो भए के निर्मला पन्त प्रकरण सधैं रहस्यमै रहन्छ त ? ती अधिकारीले भने, ‘अबको बाटो भनेको विगतमा गरिएको अनुसन्धानबाट निकालिएको तथ्यको पुनर्पुष्टि र निरन्तरको निगरानी मात्रै हो ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७