कारागारका धेरै कैदी बलात्कार घटनाका


५ माघ २०७५, शनिबार
tulsipur

दाङ, ५ माघ । दाङ तुलसीपुर कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका छन् ।

tulsipur

कारागारमा रहेका कुल ४११ कैदीबन्दीमध्ये १४१ जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका निमित्त जेलर जोखिम वलीले जानकारी दिए । त्यस्तै कुल कैदीबन्दीमध्ये ९५ कर्तव्य ज्यान मुद्दाका छन् । तीमध्ये ८६ पुरुष र सात महिला कैदीबन्दी छन् भने एक पुरुष र एक महिला थुनुवामा रहेका छन् ।

यसैगरी लागुऔषधका ६० जना रहेका छन् । तीमध्ये ५५ पुरुष कैदी छन् भने दुई कैदी र तीन थुनुवा गरी पाँच महिला छन् । त्यस्तै अपहरणका १९, चोरीका १८, बहुविवाह, जिउ मास्ने, डाँका–चोरीका १५–१५ जना रहेको कारागार प्रशासनले जनाएको छ ।

कारागार प्रशासनका अनुसार, ज्यान मार्ने उद्योगका छ, ठगीका पाँच, सवारी ज्यानका पाँच, गौवधका तीन, अप्राकृतिक मैथुनका दुई, आललागीका तीन, वन पैदावारका तीन, सार्वजनिक अपराधका दुई, अङ्गभङ्गका एक र अन्य दुई जना कैदीबन्दी कारागारमा रहेका छन् ।

पाँच बालबालिका आश्रित
कारागारमा पाँच बालबालिका आश्रित छन् । तीमध्ये चार बालिका र एक बालक छन् । उनीहरु सबै पाँच वर्षमुनिका रहेको निमित्त जेलर वलीले बताए । उनले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका दुई अभिभावकका बालिका, बहुविवाहका दुई अभिभावकका बालिका र एक अभिभावकका बालक कारागारमा आश्रित रहेको उनले जानकारी दिए ।

सात विदेशी कैदी
कारागारमा सात विदेशी कैदी रहेका छन् । तीमध्ये अधिकांश भारतका छन् । जबरजस्ती करणीका तीन, लागुऔषधका दुई, अपहरणका एक, जिउमास्ने उद्योगका एक कैदी गरी सात विदेशी कैदी रहेको निमित्त जेलर वलीले जानकारी दिए । खुला सीमानाका कारण भारतीय नागरिक व्यवसायका लागि नेपाल आउने र नेपाल आएको बेला आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको उनको भनाइ छ ।

कारागारमा समस्या छैन

कारागारको नयाँ भवन निर्माण भएपछि यहाँ ठूलो तथा विकराल समस्या नरहेको निमित्त जेलर वलीले बताए । उनका अनुसार विसं २०३६ मा स्थापना भएको पुरानो भवनमा १०० र विसं २०७४ मा सञ्चालनमा आएको नयाँ भवनमा २०० जनाको क्षमता रहेको छ ।

तर अहिले ४११ कैदीबन्दी रहेको भए पनि त्यति समस्या नरहेको उनको भनाइ छ । उनका अनुसार पुरानो भवनमा १३७ पुरुष र ३२ महिला गरी कुल १६९ कैदीबन्दी रहेका छन् । त्यस्तै नयाँ भवनमा २४२ पुरुष कैदीबन्दी रहेका छन् ।

महिला चिकित्सक नहुँदा समस्या

कारागारमा महिलाको स्वास्थ्य जाँचका लागि महिला चिकित्सक नहुँदा समस्या भएको महिला कैदीले बताएका छन् । ‘पुरुषका लागि चिकित्सक हुनुहुन्छ, तर, महिलाका लागि छुट्टै चिकित्सक नहुँदा आफ्ना समस्या खुलाउन समस्या हुन्छ’, एक महिला कैदीले भनिन् ।

त्यस्तै पुरानो कारागारमा शौचालय नभएको, कैदीबन्दीले बनाएका मुडा, ढाँकाको टोपी, पर्स, सिरकडसनालगायतले मूल्य नपाएको गुनासो गरेका छन् । कैदीबन्दीले अफ्नो दैनिक पारिश्रमिक पनि बढाउनुपर्ने माग गरेका छन् । उनीहरुको अहिले पारिश्रमिक दैनिक रु ६० रहेको र उक्त पारिश्रमिकले एक छाक खान नपुग्ने बताइन् ।

‘दैनिक रु ६० पारिश्रमिकको रुपमा सरकारले छुट्याएको थियो’, उनीहरु भन्छन्, ‘उक्त पैसाले हामीलाई बिहान रु ३० र साँझ रु ३० ले खाना खानुपर्छ, तपाईं आफँै भन्नुस्, रु ३० को खाना कस्तो हुन्छ ।’ कारागारभित्र पनि धेरै कैदी पढ्न इच्छुक भए पनि त्यसको व्यवस्था नभएको र वकिलको सहज पहुँच नहुने जस्ता समस्या रहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७