आजदेखि कर्णालीबाटै श्रम स्वीकृति, हट्या काठमाडौं धाउने वाध्यता


६ माघ २०७५, आईतवार
karnali

काठमाडौं, ६ माघ । आजबाट कर्णालीका युवाहरुले वैदेशिक रोजगारीका लागि आवश्यक श्रम स्वीकृति आफ्नै ठाउँबाट पाउने भएका छन् ।

karnali

आज (आइतबार) देखि सरकारले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्न थालिएको छ । आफ्नै प्रदेशमा श्रम स्वीकृति पाउने भएपछि कर्णालीका हजारौं युवाले धेरै खर्च गरेर पटक–पटक राजधानी काठमाडौं धाउनु पर्ने वाध्यता हटेको छ ।

कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिने जनाइएको छ ।

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत काम कार्बाही ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारले पहिलो चरणमा प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट गत पुस १५ गते उक्त सेवा ुरु गरेको हो । त्यस्तै पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रवाह भइरहेको छ ।

अब बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा छिट्टै प्रवाह गरिने संयोजक खनालले बताएका छन् । अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठडौंको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्ने छैन । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७