अझै लेखेर सकिएन जुम्ली शब्दकोश


६ माघ २०७५, आईतवार
jumli sabdakosh

जुम्ला, ६ माघ । उमेरले ७२ वर्ष नाघेका चन्दननाथ नगरपालिका– २ आचार्यवडाका भाषाविद् रमानन्द आचार्य ‘खसिया आखर’ नेपाली भाषाको जुम्ली शब्दकोश लेख्दै छन् ।

jumli sabdakosh

तत्कालीन जिल्ला विकास समितिको लगानी र भाषाविद् आचार्यसहित अन्य जुम्ली अगुवा नागरिकको पहलमा विसं २०६५ देखि जुम्लाको सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख ‘खसिया आखर’ नेपाली भाषाको जुम्ली शब्दकोश लेखन कार्य शुरु गरिएको हो ।

विसं १८४६ पूर्वको शक्तिशाली ‘खस’ राज्यको पहिचान विलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वलाई जीवन्त राख्न ‘खसिया आखर’ शब्दकोश निर्माण गर्न थालिएको भाषाविद् आचार्यले बताए ।

कर्णालीका झर्रा खस शब्द मात्र समेटिने यो शब्दकोश एक हजार पृष्ठको हुने उनले जानकारी दिए । ‘शब्दकोश लेख्न थालेको दशक पुग्यो’, उनले भने, ‘अब अन्तिम चरणमा छौँ ।’ तत्कालीन जिल्ला विकास समिति जुम्लाका स्थानीय विकास अधिकारी तिलक पौडेलसँगको समन्वयमा शब्दकोश लेखन कार्य शुरु भएको हो ।

‘अर्का स्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरेको सहयोगमा तयारी कार्य निरन्तर अघि बढिरहेको छ’, भाषाविद् आचार्यले भने, ‘शब्द सङ्कलन तथा सम्पादनको पूर्ण जिम्मेवारी मेरै छ ।’
शब्दकोशमा तत्कालीन खस राज्य सिञ्जा उपत्यकाभित्र र त्यस वरपर बोलिने भाषामा प्रयोग हुने शब्द सङ्कलन गरिएका छन् । शब्द सङ्लनका लागि भाषाविद् आचार्य अन्य सहकर्मी डोल्पाको तलिभोटान, कालीकोटको रासकोट भेक, मुगु तथा हुम्लामा पुगेका छन् ।

शब्दकोश निर्माणका लागि जानकार गणेश चौलागाईं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाईंसहितको पाँच सदस्यीय टोली गठन गरिए पनि अहिले आचार्य एक्लै दैनिक रूपमा खटिएका छन् ।

पुराना खस शब्द सङ्कलनमा भने सिञ्जाका स्थानीय संस्कृतिसम्बन्धी जानकार तुङ्गानाथ उपाध्यायले सहयोग गर्दै आएका छन् । खस शब्द सङ्कलनका लागि जुम्लाका सिञ्जा, पाँचसय, चौधबीस र असी भेकलाई केन्द्रविन्दु बनाइएको छ । हालसम्म २५ हजार जति शब्द सङ्कलन गरिएका छन् ।

हरेक दिन तत्कालीन जिल्ला विकास समिति अर्थात जिल्ला समन्वय समितिको परिसरभित्र ‘खसिया आखर’ जुम्ली शब्दकोश तयार गर्न राखिएको कार्यालयमा भाषाविद् आचार्य उपस्थित भएर जुम्ली शब्दकोश लेखनमा जुट्नु भाषाविद् आचार्यको दैनिकी बनेको छ ।

‘खसिया आखर’ लेख्ने काम अन्तिम चरणमा पुगेको छ । पहिलो पटक खस भाषामा लेख्न लागिएको खस भाषाको बृहत् शब्दकोश ‘खसिया आखर’को पाण्डुलिपिको तयारी अन्तिम चरणमा पुगेको छ । ‘खसिया आखर’ जुम्ली शब्दकोश करीब ४० हजार शब्दको हुने अनुमान गरिएको छ । पुनरावलोकन गर्ने काम पनि अन्तिम चरणमा पुगेको लेखक रमानन्द आचार्यले बताए ।

आचार्यले शब्दकोश हजार बढी पृष्ठ हुने सम्भावना रहेको बताए । ‘विदेशी भाषाको नक्कलले आफ्नै मातृभाषा हराउँदै जान थालेको चिन्ताले खस शब्द खोज्दै शब्दकोश लेखन अभियानमा जुटेको हुँ’, उनले भने ।

उनका अनुसार नेपाली भाषाको उत्पत्ति भाषाका रूपमा लिइएको खस भाषा बोलिने क्षेत्रमा कथ्य भाषाका रुपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न ‘खसिया आखर’ शब्दकोश निर्माण गर्नुपर्ने आवश्यकता भएको हो । पहिलो असी दराली भाषिकाका उपभाषिकाभित्र असीदरा, पाँचसय दरा, सिञ्जा दराका भाषाका शब्द राखिएको छ भने दोस्रो तिब्रिकोटी भाषिकाभित्र चौधबिस दरा र डोल्पाका भाषा छन् ।

तेस्रो रास्कोटी भाषिकाभित्र कालीकोटमा बोलिने भाषा छन् भने चौथो मुहु भाषिकाभित्र मुगु र हुम्ला जिल्लाभित्र बोलिने भाषालाई समावेश गरिएको भाषाविद् आचार्यको भनाइ छ । सङ्कलित शब्दमध्ये ‘अ’ देखि ‘न’ वर्णसम्मका सबै शब्द ‘कम्प्युटराइज्ड’ गरिसकिएको छ भने बाँकी शब्द ‘कम्प्युटराइज्ड’ गर्न चन्दननाथ नगरपालिकाले चालु आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरेको छ । ‘बाँकी ‘प’ देखि ‘ज्ञ’ सम्मका वर्णबाट आउने शब्द छ महीनाभित्र सक्ने लक्ष्य राखेको छु’, उनले भने ।

ढल्किँदो उमेर रहेकाले आफूले थालेको काम आफैँले सबैको माझ बेलैमा प्रकाशनमा ल्याउने ठूलो इच्छा रहेको उनको भनाइ छ । उनले शुरुमा पाण्डुलिपि तयार गरी विषय विज्ञसम्म पु¥याउने र उनीहरूबाट आएका सुझावबमोजिम संशोधनसहित परिमार्जित, परिस्कृत शब्दकोश आर्थिक वर्ष ०७६–७७ मा प्रकाशन गर्ने जमर्को राखिएको बताए । शब्दकोश प्रकाशनका लागि जिल्ला समन्वय समितिमार्फत नगरपालिका र गाउँपालिकामा रु २२ लाख बजेटको प्रस्ताव गरिएको भाषाविद् आचार्यले बताए ।

जीवनको उत्तरार्धमा नयाँ पुस्तालाई महत्वपूर्ण कोशेली छोड्न अहोरात्र खटिएर काम गरेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले सबै स्थानीय तहमा पहल गरिदिने बताए । उनले भने, ‘हाम्रो इतिहास जोगाउन जुम्ली शब्दकोश निकै महत्वपूर्ण भएकोले सबैले सहयोग गर्नुपर्ने आवश्यक रहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७