समायोजन फारम भरेका कर्मचारीको विवरण रुजु हुँदै, १२ समूहले यसरी गर्दैछ काम


६ माघ २०७५, आईतवार
karmachari sarkari psc 768x390 1

काठमाडौं, ६ माघ । प्रदेश र स्थानीय तहमा जानका लागि समायोजनको फारम भरेका कर्मचारीको विवरण रुजु गर्ने काम थालिएको छ ।

karmachari sarkari psc 768x390 1

समायोजन फारम भरेका कर्मचारीको दरबन्दी भिडाउने, रुजु गर्ने, ज्येष्ठताको सूची बनाउने, गुनासो लिनेलगायतका कामका लागि १२ वटा समूह बनाएर काम थालिएको छ ।

समायोजन संरचनाको दरबन्दी अनुसार विवरण भिडाउने र रुजु गर्ने काम थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । सबै समूहले आफ्नो जिम्मेवारीको काम थालिसकेको मन्त्रालयले जानकारी दिएको छ ।

कर्मचारी समायोजन अध्यादेशमा उल्लेख भए अनुसारका सेवा सञ्चालन गर्ने निकायले पनि आवश्यक विवरण लिने गरी काम थालेका महाशाखाका उपसचिव अनिता निरौलाले जानकारी दिएका छन् । उनका अनुसार एक हप्ताभित्र सबै कर्मचारीको विवरण तयार हुनेछ । संघमा समायोजन हुने परराष्ट्र, लेखापरीक्षण र न्याय सेवाका कर्मचारीका हकमा सम्बन्धित मन्त्रालयले एक हप्ताभित्र नै समायोजन सक्ने छ ।

संसद् सचिवालय, परराष्ट्र, लेखापरीक्षण र न्याय सेवाका झण्डै ४ हजार कर्मचारी संघमा नै समायोजन हुनेछन् । उनीहरुलाई ७ दिनभित्र पत्र दिन भनिएको छ ।

समायोजनका आवश्यक प्रकृया चरणबद्ध रुपमा सक्नेगरी काम थालिएको पनि निरौलाले बताएका छन् । पहिलो चरणमा मुख्य सचिव र विशिष्ट श्रेणीका कर्मचारीको समायोजन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

समायोजनका लागि ७५ हजार ३ सय ६७ सरकारी कर्मचारीले फारम भरेका छन् । संघ, प्रदेश र स्थानीय तहको संरचना अनुसार कर्मचारीको दरबन्दी कायम गरिएको छ । संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दी कायम भएको हो । कर्मचारीले तीनवटै तह रोजेर अनलाइन फारम भरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७