केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु


७ माघ २०७५, सोमबार
center jel

काठमाडौं, ७ माघ । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ ।

center jel

कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए । ‘रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका कारण मृत्यु भएको हो’, उनले भने । कारागार अस्पतालमा उपचार हुन नसकेको बिरामीलाई रोगको प्रकृति हेरेर वीरअस्पताल, शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पतालमा पठाउँदै आएको डा. श्रेष्ठले बताए ।

विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो केन्द्रीय कारागार जगन्नाथदेवलमा विसं २०२० तिरबाट कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको हो । केन्द्र, भद्र र महिला जेल भएको केन्द्रीय कारागारमा हाल दुई हजार ८०० कैदीबन्दी रहेका छन् ।

यस्तै चालू आवमा मात्र झण्डै पाँच हजार नयाँ तथा पुराना कैदीबन्दीले उपचार गराएको कारागार अस्पतालले जनाएको छ । आव २०७४–०७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीबन्दीले उपचार गरेका थिए । २४ सैँ घण्टा कैदीबन्दीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामी बाहेक डिल्लीबजार कारागार र नख्खु कारागारका कैदीबन्दीको समेत उपचार गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७