सेवा समूहलाई सात दिनभित्र समायोजन गर्न परिपत्र


७ माघ २०७५, सोमबार
karmachari sarkari psc 768x390 1

काठमाडौं, ७ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघमा मात्र सङ्गठन संरचना रहेका सेवा समूह भएका कार्यालयलाई सात दिनभित्र समायोजन गरिसक्न परिपत्र गरेको छ ।

karmachari sarkari psc 768x390 1

मन्त्रालयका उपसचिव अनिता निरौलाले सङ्घमा मात्र सेवा समूह रहेका कार्यालयलाई सात दिनभित्र समायोजन गराइसक्न सम्बन्धित कार्यालयलाई पत्र पठाइएको बताइन् । करीब पाँच हजार कर्मचारी संघ अन्तर्गतका कार्यालय रहेका छन् ।

यसअघि मन्त्रालयको समायोजन शाखाले विशिष्ट श्रेणीका कर्मचारीको समायोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाएको छ । विशिष्ट श्रेणीका कर्मचारीको समायोजनको काम मन्त्रिपरिषद् कार्यालयले गर्नेछ ।

यसैगरी मन्त्रालयले सहसचिवको समायोजनका पनि तयारी थालेको छ । सहसचिवको ज्येष्ठताका आधारमा समायोजन गर्न थालिएको उपसचिव निरौलाले जानकारी गराइन् । सरकारले कर्मचारी समायोजन अध्यादेश–२०७५ ल्याएर गत पुस ११ देखि माघ २ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि अनलाइन फाराम आवेदन माग गरेको थियो । ७७ हजार ३४ कर्मचारीले समायोजनका लागि आवेदन फाराम भरेका छन् ।

सङ्घमा ४६ हजार २६०, प्रदेशमा ५८ हजार ६२३ र स्थानीय तहमा तीन लाख ५४ हजार २२५ जनाले समायोजनका लागि फाराम भरेका छन् । कर्मचारीले तीनै तह गरी ७६१ वटा तह समायोजनका लागि रोज्न पाउने अध्यादेशमा व्यवस्था रहेको छ । यसैगरी सङ्घ रोज्ने पहिलो प्राथमिकतामा ३५ हजार ३६८, प्रदेश तह १४ हजार २०९ र स्थानीय तह २७ हजार ४७१ जनाले पहिलो प्राथमिकता रोजेका छन् ।

यसैगरी मन्त्रालयले समायोजन रोज्ने कर्मचारीको १२ वटा समूह बनाउन थालेको छ । समायोजनमा पठाउनका लागि ज्येष्ठताका आधारमा समूह बनाउन थालिएको उपसचिव निरौलाले बताइन् । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७