यसरी भइरहेको छ पशुपतिको अथाह जग्गा हिनामिना, क-कसको छ हात ?


८ माघ २०७५, मंगलवार
pashupat jagga nalibeli 20190122012622

काठमाडौं, ८ माघ । काठमाडौंको केन्द्रमा पाँच हजार रोपनी जग्गा व्यक्तिको नाममा हुन्थ्यो भने उसले कति कमाउँथ्यो होला ? त्यति नै जग्गाको धनी भएर पनि पशुपतिनाथलाई जात्रापर्व चलाउन समेत हम्मेहम्मे पर्दै आएको छ ।

pashupat jagga nalibeli 20190122012622

पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालित मन्दिरको जग्गाजमिन अथाह भए पनि यसको सदुपयोग हुन सकेको छैन । काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला, आसपासका काभ्रे, नुवाकोट, लमजुङका साथै तराईमा सयौं बिघा जमिन भए पनि कोषले वार्षिक करिब ६० लाख रूपैयाँ मात्र कुतबापत बुझ्दै आएको छ ।

कोषको राजधानी र आसपासको चार हजार ६ सय ७३ रोपनी जग्गाको मूल्य हिसाब गर्ने हो भने अर्बौंको सम्पत्ति हुन्छ र यसबाट निजीले झैं भाडा उठाउने हो भने पनि करोडौं हुन्छ । तर राज्यले समायानुकूल ऐनकानुन नबनाउँदा मोहीलगायतले वार्षिक ५६ लाख ३१ हजार दुई सय २३ रूपैयाँमा चित्त बुझाउन कोष बाध्य छ । जुन आम्दानीले पशुपतिको खर्चसमेत धान्न नसकेको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए ।

यसै आम्दानीबाट परम्पराअनुसार कार्यालयबाट गर्नुपर्ने पशुपति मन्दिरसँग सम्बन्धित पुजारी र रैरकमीको पारि श्रमिक, पूजा खर्च र जात्रापर्वको खर्च पनि धान्न गाह्रो भइरहेको छ । रैरकमीको पारि श्रमिकमा समयसापेक्ष वृद्धि भएको र जात्रा पर्वसँग सम्बन्धित खर्चहरू पनि बढ्दै गएकाले यी खर्च धान्न कुत आम्दानी अपर्याप्त रहेको उप्रेतीले बताए ।

‘हिन्दू धर्मावलम्बीको पवित्रस्थल पशुपतिनाथ मन्दिरसँग प्रशस्त जग्गाजमिन र अथाह सम्पत्ति हुँदाहँुदै पनि सदुपयोग हुन सकेको छैन’, उप्रेतीले अन्नपूर्णसँग भने, ‘पशुपतिको भएको जग्गा पनि व्यवस्थित र सबैबाट कूतसमेत उठ्ने अवस्था छैन, आउने कुतबालीबाट पशुपतिनाथका जात्रा, पर्व र पूजा गर्न सधैं अपुग हुन्छ ।’

पशुपति क्षेत्र विकास कोषका अनुसार कोषका मातहतका तीन कार्यालयमा चार हजार ६ सय ७३ रोपनी जग्गा छ । पशुपतिनाथ अमालकोट कचहरी, पशुपतिनाथ भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिल कार्यालयसँग रहेको जग्गाजमिनको मात्र विवरण कोषसँग छ । कोषका अतिरिक्त गुठी संस्थानअन्तर्गत राजगुठी र निजी गुठीमा पनि पशुपतिनाथको जग्गा प्रशस्त छ ।

विगतमा लालमोहर, सनद, सवाल, राजपत्र, भोजपत्र र ताडपत्र आदिमार्फत पशुपतिनाथका नाममा अर्पिएका सबै जग्गाको समेत कोषसँग अभिलेख छैन । स्रोतका अनुसार, राजगुठी र निजी गुठीका कतिपय जग्गा भूमाफियाले हडपिसकेका छन् ।

कोषका अनुसार, तीनवटै कार्यालयको चार हजार ६ सय ७३ रोपनी जग्गाबाट वार्षिक ५६ लाख ३१ हजार दुई सय २३ रूपैयाँ र मार्सी फलेको चामल पाँच हजार तीन सय ४५ किलो र दुई सय ५३ दशमलव आठ लिटर तेल जिन्सी प्राप्त हुने गरेको छ । अमालकोट मातहतमा मात्रै एक हजार पाँच सय ३८ रोपनी ११ आना जग्गा छ । जसमा दुई हजार एक सय ४० मोही छन्, जसबाट केवल १९ लाख कुतबापतको रकम संकलन हुन्छ ।

भण्डार तहबिल मातहतमा तीन हजार दुई सय २५ मोहीले दुई हजार दुई सय ८८ रोपनी नौ आना जग्गा कमाइरहेका छन् । जसबाट २५ लाख ९९ हजार पाँच सय १३ रूपैयाँ कुतवापतको रकम संकलन हुन्छ । ललितपुरमा १६ मोहीले २३ रोपनी ९ आना जग्गा कमाएर २२ हजार पाँच सय २८ कुत रकम बुझाउँदै आएका छन्। भक्तपुरबाट एक सय ५२ मोहीले एक सय ३० रोपनी १० आना जग्गा कमाएवापत दुई लाख ६३ हजार ८३ रूपैयाँ कुत बुझाउँछन् ।

नुवाकोट सुनाखानीका १८ मोही ७७ रोपनी ५ आना जग्गावापत १३ हजार ६ सय २२ रूपैयाँ बुझाउँछन् भने लमजुङस्थित पुवाका एक मोहीले पाँच रोपनी जग्गावापत चार हजार तीन सय ७० बुझाउँछन् । काभ्रे पाँचखालका १३ मोहीले एक सय १४ रोपनी ३ आना जग्गा कमाएवापत १७ हजार दुई रूपैयाँ बुझाउने गरेका छन् ।

भण्डार तहबिल मातहतको दुई हजार ६ सय ३९ रोपनी ६ आना जग्गा ३ हजार चार सय २५ मोहीले कमाइरहेका छन् । जसबाट कोषले २९ लाख २० हजार एक सय १९ रूपैयाँ कुत बुझ्दै आएको छ । जयवागेश्वरी भण्डार तहबिलको चार सय ९५ रोपनी ५ आना जग्गा एक हजार १८ मोहीले कमाइरहेका छन्, उनीहरूले सात लाख ३९ हजार सात सय ४४ रूपैयाँ कुतबापत बुझाउँछन् ।

जयवागेश्वरीअन्तर्गत काठमाडौंमा एक हजार १५ मोहीले चार सय ९२ रोपनी १३ आना जग्गाबापत सात लाख ३५ हजार एक सय ९४ रूपैयाँ कुत बुझाउँदै आएका छन् भने ललितपुरका तीन मोहीले दुई रोपनी सात आना जग्गा कमाएबापत चार हजार पाँच सय ५० रूपैयाँ कुत बुझाउँछन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७