३८ क्वीन्टल सुन तस्करी प्रकरण पुनः बहसमा, ‘ह्वेल माछा’ दीपक मल्होत्रालाई उम्काइएको प्रतिवेदन दराजमै थन्कियो


Author
८ माघ २०७५, मंगलवार
malhotra 1


काठमाडौं, ८ माघ । सरकारले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानबिन गर्न गठित सहसचिव इश्वरराज पौडेलको समितिले प्रतिवेदन बुझाएको ५ महिना माघ १६ गते पुग्दैछ । प्रधानमन्त्री ओलीलाई पौडेल समितिले २०७५ भदौ १६ मा सुन ७ सय ५२ पेज लामो प्रतिवेदन बुझाएको थियो । समितिले ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो भने ४५ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । अहिले सुन प्रकरणमा उच्च अदालतका मुख्य न्यायाधीश डा. कुलरत्न भूर्तेलसहित ५ न्यायाधीशलाई न्यायपरिषदले कारबाहीस्वरुप काठमाडौंमा तानेपछि पुनः यो बहसको बिषय बनेको छ ।

malhotra 1
दीपक मल्होत्रा, विमल पोद्दार र उनले दिएको बयानको एक अंश

पौडेल समितिले प्रधानमन्त्री ओलीलाई बुझाएको प्रतिवेदनमा नेपालमा लामो समयदेखि सुन तस्करी राजनीतिक दल, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका उच्च अधिकारीको संरक्षण हुने गरेको कारण सुन तस्करीका लागि नेपाल स्वर्ग भएको समेत प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ । ३३ किलो सुन तस्करीको छानबिन गर्न गठित समितिले ३८ क्वीन्टल सुन नेपालमा तस्करीको माध्यमबाट आएको खुलासा गरेको थियो । ३८ क्वीन्टल सुन नेपालमा तस्करीबाट भित्र्याउने को हुन् ? यसबारे राजनीतिक दल, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी सबैलाई थाहा छ ।

३८ क्वीन्टल सुन नेपालमा तस्करीको माध्यमबाट ल्याउने र त्यो सुन भारतमा पुर्याउने दीपक मल्होत्रा हुन् । तर उनले राजनीतिक दल, सुरक्षा निकायमात्र होइन, न्यायालय समेत सेटिङ गरेका छन् । पौडेल समितिले सुन तस्करीमा उनका ब्यापारिक साझेदार विमल पोद्दारलाई पक्राउ गरेको थियो । पोद्दार सामसुङ मोवाइको आधिकारिक विक्रेता इन्टिग्रेटेड मोविलिटी सर्भिस (आइएमएस) देखि इबिसु ज्वेलर्स(हाल बिक्री गरिएको दाबी) सिल्भरसिटी अपार्टमेन्टसम्ममा मल्होत्राका पाटनर हुन् ।

पोद्दारले बयानमा दीपक मल्होत्राले सुन तस्करी गरेको स्पष्टसँग भनेका छन् । तर सुन तस्करीका ह्वेल माछालाई पक्राउ नै नगरी छानबिन समितिले प्रतिवेदन बुझायो । प्रतिवेदन धुलो लागेर माउले खाएर सकिन्छ तर सुनतस्करीका ह्वेल माछारुपी मल्होत्रा पक्राउ पर्ने छैनन् । दुईतिहाई बहुमत प्राप्त सरकारले गठन गरेको छानबिन समितिले सुनतस्करी निमिट्यान्न पार्नका लागि जरैसम्म पुग्ने अपेक्षा गरिएको थियो । तर पात र हाँगाहरुमा मात्र पुग्यो, बोटमै पुग्न सकेन, जरामा पुग्ने त परको कुरा ।

सबैलाई थाहा छ, नेपालमा सुनतस्करीको कनेक्सन मल्होत्रासँग पुगेर जोडिन्छ । तर ३ सय ब्यक्तिमाथि छानबिन गर्ने समितिले सुनतस्करीको मूख्य ब्यक्तिमा निशाना साध्नै सकेन । किनकि ऊमाथि निशाना साँध्दा लहरो तान्दा पहरो आउने थियो । राजनीतिक दलदेखि सुरक्षा निकाय र न्यायालयसम्मै हल्लिने अवस्था भएपछि छानबिन समितिले जरासम्म पुग्न नसकी प्रतिवेदन बुझायो । सिन्डीकेट हटाउने भनेर प्रयासमै सीमित भएझैं सुनतस्करी निमिट्यान्न पार्ने आम अपेक्षामा तुषारापात भयो ।
मल्होत्राका पाटनर पोद्दारले बयानमा धेरै कुराको खुलासा गरेका छन् ।

अर्थतन्त्र नै खोक्रो पार्ने गरी सुन तस्करीका लागि अवैध हुन्डीमार्फत् करोडौं करोड विदेशी मुद्रा तस्करीको सुन किन्नका लागि विदेश जाने गरेको छ । हुन्डीमार्फत् तस्करीको सुन किन्न मल्होत्राले करोडौं करोड अमेरिकी डलर विदेश पठाउने गरेको भेद पनि उनैले खोलेका छन् । मल्होत्राको विदेशी मुद्रा आफैंले हुन्डी गरेर पठाएको उनको बयानमा उल्लेख छ । सुनदेखि हुन्डी कारोबारको कनेक्सन मल्होत्रामै गएर जोडिने भए पनि सरकार उनलाई केही गर्नसक्दैन भन्ने कुरा देखिसकेको छ । सहसचिव पौडेलको टोलीले तयार पारेको प्रतिवेदनमा सुन तस्करी र हुण्डीबीच अन्तरसम्बन्ध रहेको उल्लेख छ ।

सुन तस्करीमा संलग्न भनेर बाटो र पसलबाट श्रवण शक्ति नै नभएका महावीर गोल्यान चाचादेखि विभिन्न ३ सय ब्यक्तिलाई उठाएर छानबिन समितिले लग्यो, तर हातमा लाग्यो सून्य । कुनै उपलब्धी भएन । तिनै सुन प्रकरणमा जिल्ला अदालतले थुनछेक आदेश दिएका पूर्व र बहालवाला प्रहरी अधिकारी, बिमल पोद्दार, राजेन्द्रमान शाक्यहरुलाई उच्च अदालत बिराटनगरले साधारण तारिखमा छाडेको आरोपमा ५ न्यायाधीशलाई न्यायपरिषदले कारबाहीस्वरुप काठमाडौं तानेपछि यसले पुनः बजार तताएको छ ।

प्रतिवेदनमा सुन तस्करी काण्डमा अझै ३ सय भन्दा बढीको संलग्नता रहेको र उनीहरुको नाम नै किटेर कारवाहीको दायरमा ल्याउन समेत समितिले आग्रह गरेको छ । तर मुख्य दोषी मल्होत्राको नाम किटिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७