हुम्ला र बाजुरामा भारी हिमपात, माइनस तापक्रमले घर बाहिर निस्कनै मुस्किल


८ माघ २०७५, मंगलवार
snow fall in humla

हुम्ला, ८ माघ । हुम्ला र बाजुरामा भारी हिमपात भएको छ । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ ।

snow fall in humla

हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घर बाहिर निस्कन समेत समस्या भएको छ ।

अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावत समेत बन्द भएको छ ।

हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा आवतजावत बन्द भएको छ । हिमपातका कारण सिमकोटलगायत उत्तरीे नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको छ । मुचुमा अहिलेसम्म झण्डै दुई फिट जति हिउँ जमेको छ ।

हिमपातले विद्यार्थीको ‘ट्युसन’ बन्द
हिमपात हुँदा एसइई तयारी गर्न ‘ट्युसन’ पढ्ने विद्यार्थीको समेत बिहानको पढाइ बन्द भएको छ । जिल्लामा भारी हिमपात हुँदा पढाइ बन्द गर्नुपरेको मानसरोवर माविका शिक्षक धनबहदुर ऐडीले बताउनुभयो । यसअघि हिमपात हुँदा ‘ट्युसन’ सञ्चालन गरिए पनि सोमबार रातिदेखि हिमपातसँगै चलेको हुरीले पढाउन नसकिएको शिक्षक ऐडीले बताए ।

बाजुरामा हिमपात
बाजुरामा पनि हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो ।

हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । हिमपात एकाएक भएको हो । दिनभर घाम लागेको थियो ।

मध्यरात एकाएक मौसम बदली भएर हिमपात भएको हो । जिल्लाका हिमाली गाउँपालिकाको रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ ।

सदरमुकाम मार्तडीलगायतका तल्लो क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ भने सदरमुकाम नजिकैका बस्तीमा हिमपात भएको छ । हिमपात हुने क्रम अझै जारी छ । हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीयवासीले बताएका छन् । सदरमुकाम मार्तडीका पसलहरू फाट्टफुट्ट खुलेका छन् ।

सदरमुकाम आसपासको जङ्गलमा झण्डै आधा फिट हिउँ जमेको छ । यहाँका मानिस घरमा आगो तापेर बसेका छन् । हिमपातले सबैभन्दा जिल्लाको उच्च भेगको जनजीवन नराम्ररी प्रभावित बनेको छ भने पोरखे लेकमा धेरै हिउँ परेका कारण मार्तडी कोल्टी सडकमा चल्ने ट्र्याक्टर र जीप सेवा समेत बन्द भएको स्वामिकात्तिक यातायात प्रालिका काउण्टर इन्चार्ज निशान्त रोकायाले जानकारी दिए । मान्छेको आवतजावत समेत रोकिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७