म्यानपावर ब्यवसायीले मलेसियाको कलिङ भिसा पाएका कामदारको विवरण नपठाउने

श्रम स्वीकृतिका लागि ताहाचलमा कागजात पेश गर्ने निर्णय


८ माघ २०७५, मंगलवार
rohan gurung

काठमाडौं, ८ माघ । बैदेशिक रोजगार ब्यवसायी संघले मलेसियाको कलिङ भिसा प्राप्त गरेका कामदारको विवरण यसअघि नै पठाइसकेकाले पुनः नपठाउने निर्णय गरेको छ । बैदेशिक रोजगार विभागले म्यानपावर ब्यवसायीलाई मलेसिया रोजगारीमा जानका लागि कलिङ भिसा प्राप्त गरेका कामदारहरुको विवरण पठाउन सोमबार पत्र पठाएको थियो । विभागले पत्र पठाएपछि संघको बैठक बसेको थियो ।

rohan gurung

बैठकपछि संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा बैदेशिक रोजगार विभागले ‘ओटिए टनेल एसडिएन बिएचडी’ नामक कम्पनीमा पठाउन २० नेपालीलाई ब्यक्तिगत श्रम स्वीकृति प्रदान गरिएको बिषयमा गम्भीर ध्यानाकर्षण भएको छ ।’ ब्यक्तिगत श्रम स्वीकृति दिएको बिषयमा संघले सोमबार इजाजतप्राप्त ब्यवसायीहरुको भेला बोलाएको थियो ।

भेलाले विभागले सोमबार इजाजतप्राप्त संस्थाहरुलाई सम्बोधन गरी मलेसियाबाट कलिङ भिसा प्राप्त कामदारको विवरण १५ दिनभित्र विभागमा उपलब्ध गराइदिन भनी प्रेषित गरिएको पत्रलाई असान्दर्भिक ठहर गरेको छ । र, यसरी कलिङ भिसा प्राप्त कामदारको विवरण श्रम मन्त्रालय, बैदेशिक रोजगार विभाग र काठमाडौं कार्यालय ताहाचलमा संघ मार्फत् यसअघि नै पेश गरिसकेकाले पटक पटक एउटै बिषयमा एउटै निकायलाई जानकारी उपलब्ध गराउनुनपर्ने ठहर गरी त्यस्तो विवरण नदिन सम्पूर्ण ब्यवसायीलाई अनुरोध गरेको छ ।
विभागले माघ २ मा बैदेशिक रोजगार काठमाडौं कार्यालयलाई सोही मितिमा पठाएको चलानी नं. ४३७ को बिषय संघको जानकारीमा आएको छ । सो पत्रमा ऐनको दफा १९ र २१ को प्रक्रिया पूरा गरी २० जना कामदारलाई ओएससी र भीएलएन कम्पनी÷प्रणालीमार्फत् नै भिसा लगाई मलेसियाको ‘ओटिए टनेल एसडिएन बिएचडी’ कम्पनीमा जान श्रम स्वीकृति प्रदान गरिएको पाइएकाले संस्थागत रुपमा म्यानपावरमार्फत् मलेसिया कामदार पठाउन कलिङ भिसा प्राप्त भई स्वीकृति लिन सबै प्रक्रिया पूरा भएका कामदारको अन्तिम स्वीकृतिको निस्सा लिनका लागि बैदेशिक रोजगार काठमाडौं कार्यालयमा श्रम स्वीकृतिका लागि फाइल(कागजात) पेश गर्न सम्पूर्ण इजाजत प्राप्त बैदेशिक रोजगार ब्यवसायीहरुलाई आग्रह गरेको छ । साथै ब्यवसायीले पेश गरेका फाइलमा श्रम स्वीकृति दिनका लागि श्रम मन्त्रालय, विभाग र काठमाडौं कार्यालयलाई अनुरोध गरेको छ ।

उता, श्रम मन्त्रालयले भने मलेसियन दूताबासले गैरकूटनीतिक ब्यवहार प्रदर्शन गरेको भन्न थालेको छ । नेपाल सरकारले गैरकानुनी घोषणा गरेको भिएलएनमा भिसालगायका शुल्क तिराएर दूतावासले २० कामदारको भिसा जारी गरेकोमा मन्त्रालय रुष्ट भएको छ । नेपालस्थित मलेसियाली दूतावास बढी ठगी गरेको आरोपमा कानुनी कारबाही भोगिरहेका भिएलएन, ओएससी, जिएसजीलगायतको संरक्षणमा रहेको आरोप लगाएको छ । ‘कलिङ भिसा लागेका कामदारको बाँकी प्रक्रिया दूतावास स्वयंले पूरा गरेको भनेर पत्र आएको थियो । सही आधारमा हामीले अन्तिम श्रम स्वीकृति दियौँ, तर ठगीमा संलग्न संस्थाहरूबाट नै प्रक्रिया अगाडि बढाएको पाइयो ।’

मन्त्रालयले श्रम समझदारीमा हस्ताक्षर भएको ३ महिना बित्नै लाग्दासमेत नयाँ प्रक्रियाबाट मलेसियाको रोजगारीमा जान अझै कम्तीमा डेढ महिना लाग्ने बताएर मलेसिया जान चाहने कामदारको सपनामा तुषारापात गरेको छ ।  २०७५ कात्तिक १२ मा दुई देशबीच श्रम समझदारी भएको थियो ।

यो पनि पढ्नुहोस्ः

मलेसिया कामदार जाने प्रक्रिया सुरु

मलेसियामा कामदार अनुमति रोक्का प्रकरण, असफलता ढाकछोप गर्न भ्रमपूर्ण प्रचारबाजी

मन्त्रीले भेन्डर परिवर्तन गर्न खोज्दा मलेसिया कामदार पठाउन रोकियोः डा. शेखर कोइराला




प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७